नेपाल वायुसेवा निगम (नेवानि)ले दैनिक एक करोड रुपैयाँ घाटा बेहोर्नु परिरहेको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ ।
निगम सुधारका लागि सुझाव दिन बनेको कार्यदलले बोइङ जहाजबाट एअरबसमा जाने निर्णयपछि नयाँ प्रणालीका लागि पर्याप्त गृहकार्य नभएको र त्यसले घाटा बढाएको निष्कर्ष निकालेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको कार्यदलले पाइलट, इन्जिनियर तथा अन्य सम्बन्धित प्राविधिक जनशक्ति तयारी तथा उपयुक्त गन्तव्यको छनोटमा ध्यान नदिइएको बताएको छ ।
पूर्व पर्यटन सचिव सुशील घिमिरे संयोजकत्वको टोलीले तयार पारेको प्रतिवेदनअनुसार यस्तो तयारी गरी जहाज आउनासाथ उडाउन सक्नुपर्नेमा निगम असफल बनेको छ ।
जहाज अर्डर गरेपछि आवश्यक तयारी गरेको भए जहाज एक वर्षसम्म खाली बस्नु नपर्ने निष्कर्श कार्यदलको छ । तयारी नहुँदा निगमका जहाजले अनुपयुक्त गन्तव्यमा उडान भरेका हुन् ।
त्यसो त वर्तमान निगमको व्यवस्थापकीय पक्ष पनि सन्तोषजनक नरहेको कार्यदलले निष्कर्ष निकालेको छ प्रतिवेदनमा भनिएको छ, “निगमका समस्या सुधार नगरे राज्यले यस संस्थानबाट उत्पन्न हुँदै जाने दायित्व बेहोर्नुपर्नेछ ।”
विगतका दिनमा निगम सरकारको सदाशयताले मात्र अस्तित्व जोगाउन सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । अब राज्यले अभिभावकत्व बहन गरेर संरक्षण तथा संवर्द्धन गर्नुपर्ने सुझाव दिइएको छ ।




