मानव सेवा आश्रमलाई स्टिल दराज सहयोग

पोखरा उद्योग वाणिज्य संघको ६५ औं वार्षिकोत्सवको अवसरमा पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रमलाई ५ वटा स्टिल दराज प्रदान गरिएको छ ।

आश्रममा रहेका आश्रितको कपडा व्यवस्थित गर्न करिब ४० हजार बराबरका दराज प्रदान गरिएको हो । संघकी उपमहासचिव चिनु गुरुङको समन्यमा ती दराज हन्तान्तरण गरिएको हो ।

संघका महासचिव अर्जुन पोखरेल,उपमहासचिव चिनु गुरुङसहित संघका कार्यसमितिका सदस्य ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, चिन्तामणि बास्तोला, तारानाथ ढुंगाना, संघका कार्यकारी निर्देशक टोपबहादुर थापा, संघ अन्तर्गतको बालश्रम न्यूनीकरण कार्यक्रमका कार्यक्रम संयोजक सरिता ताम्राकार, प्रीति पाण्डेलगायतले आश्रमका जिल्ला संयोजक राजन सापकोटालाई दराज हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा संघका महासचिव अर्जुन पोखरेलले मानवीय सेवाको लागि संघले यो काम गरेको बताए ।

मानव सेवा आश्रमले गरेका कामहरु सह्रानीय रहेको भन्दैै उनले आश्रमलाई राज्यका निकायबाट पनि सहयोग गर्नुपर्नेमा जोड दिए । उनले मानवीय सेवामा क्रियाशिल संस्थालाई आवश्यक पर्ने सहयोग गर्न निजी क्षेत्रसँग आग्रह पनि गरे ।

संघकी उपमहासचिव चिनु गुरुङले मानवीय सेवामा खटिएको आश्रमलाई आफ्नो फजुल खर्च घटाएर सहयोग गर्न पनि आग्रह गरिन् ।

संघको ६५ औँ वार्षिककोत्सव यही असोज ४ गते संघको सचिवालयमा आयोजना गरिएको संघका केदार कोइरालाले जानकारी दिए ।

मानव सेवा आश्रममा अहिले ९६ जना आश्रित छन् । त्यहाँ रहेका आश्रितको लागि दैनिक ४५ हजार रुपैयाँ खर्च लाग्छ ।

संस्थाले सडकमा रहेका र आफन्त नभएकालाई आश्रममा ल्याएर सेवा दिँदै आएको छ । त्यहाँ रहेकामध्ये अधिकांश मानसिक रोगले ग्रसित रहेको आश्रमका संयोजक राजन सापकोटाले बताए ।