कर्मचारीसंग हार्यो गण्डकी प्रदेश सरकार

संविधान दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले मैत्रीपूर्ण भलिवल आयोजना गरेको छ । सशस्त्र प्रहरी गण पार्दीमा भएको मैत्रीपूर्ण भलिवलमा बुधबार ३ खेल भएका छन ।

पहिलो खेलमा मुख्यमन्त्री टिम निजामती कर्मचारीको टिमसंग २–१ सेटमा पराजित भएको छ ।

मुख्यमन्त्रीको टिमबाट आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द बहादुर नेपाली, सांसद मोहन बस्नेत र मिनप्रसाद गुरुङ लगायत सहभागी थिए ।

यस्तै निजामती कर्मचारीकोतर्फबाट मुख्यमसचिव हरिप्रसाद बस्याल, प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरे, मुख्यमन्त्री कार्यालयका उपसचिव डिल्लीराम सिग्देल लगायत सहभागी थिए ।

यस्तै दोस्रो खेलमा पश्चिमाञ्चल खेलकुद संघले उद्योग वाणिज्य संघको टोलीलाई पराजित गरेको छ । २–० को सोझो सेटमा खेलकुद संघ विजयी भएको हो ।

तेस्रो खेल पत्रकार र कर्मचारीविच भएको थियो । यो खेलमा पत्रकारको टोली २–० को सोझो सेटमा पराजित भयो ।

फाइनल खेल विहिबार पश्चिमाञ्चल खेलकुद संघ र निजामती कर्मचारी टिमवीच हुनेछ ।
यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेफ्रीलाइ भलिबल हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । संविधान दिवसको अवसर पारेर प्रदेशसभाले विभिन्न कार्यक्रम गरिरहेको छ ।