‘नेपाल भ्रमण वर्ष-२०२०’ को आधिकारिक वेबसाईट तथा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम र लिङ्डईन पनि सञ्चालनमा ल्याइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच ‘नेपाल भ्रमण वर्ष-२०२०’ को सम्पूर्ण सूचनाहरु जानकारी दिने उद्देश्यका साथ तयार पारिएको सो आधिकारिक वेबसाईट तथा सामाजिक सञ्जालका ह्यान्डलहरुको एकैसाथ शुभारम्भ गरेका हुन् ।
‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयले तयार पारेको वेबसाईटहरु मा www.visitnepal2020.gov.np / www.visitnepalnews.gov.np रहेका छन् । त्यसैगरी सामाजिक सञ्जालहरुको ह्यान्डलहरुमा facebook-nepallifeexperiecces, Instagram-@visitnepalyear2020_official, Linkedin-@visitnepal2020-secretariat रहेका छन् ।
यसमा नेपाल भ्रमण वर्षका सम्पूर्ण सूचनाहरु समावेश गरिने ‘नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी दिए । कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षको तयारीको कामलाई तीव्रता दिने क्रममा यसको आधिकारिक वेबसाईटहरुको पनि शुभारम्भ गरिएको बताए ।
‘नेपाल भ्रमण वर्ष-२०२०’ को आधिकारिक वेबसाईटमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल सम्बन्धि जानकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिहरुको पनि सो सम्बन्धि सन्दर्भ सामग्रीहरु भिडियोमार्फत सार्वजनिक गरिनेछ ।
मन्त्री भट्टराईले यी वेबसाईटहरुबाट नेपाल भ्रमण वर्षको तयारीका सम्पूर्ण गतिविधि सार्वजनिक गर्न पनि सम्बद्ध सबै निकायलाई निर्देशन पनि पनि दिए ।
मन्त्री भट्टराईले यस अघि ‘नेपाल भ्रमण वर्ष-२०२०’ लाई सफल बनाउन उद्योगी, व्यवसायी र कलाकारहरुसँग छलफल गरेका थिए ।






