कांग्रेसलाई लाग्यो कास्की २ को उपचुनाव

- घरघरमा पुगेर कांग्रेसलाई जिताउन पहल गर्ने प्रतिवद्धता

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा नेपाली कांग्रेसका उमेद्वारलाई विजयी गराउने सहभागीले प्रतिवद्धता गरेका छन् । नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत पोखरा महानगरपालिका १७ मा भएको कार्यक्रममा बोल्ने वक्ताले यो प्रतिवद्धता जनाएका हुन् । उनीहरुले गएको निर्वाचनमा अन्तर्घात गर्नेलाई पनि काँग्रेस रुख चिह्नमा मतदान गर्न आग्रह गरे ।

वक्ताहरुले निर्वाचनमा भएको घात अन्तर्घात र बेतिथिविरुद्ध एक ढिक्का भएर जनतामाझ जाने प्रतिबद्धतासमेत जनाएका हुन् । कार्यक्रममा कांग्रेसका जिल्ला, वडा, टोल र भातृ संगठनका कार्यकर्ताको सहभागिता थियो ।

केन्द्रीय प्रतिनिधि सुबोधचन्द्र लामिछानेले सरकारको अराजक गतिविधिका कारण जनतामा निराशा छाएको दाबी गरे । ‘जनताले हामीलाई नै विश्वास गरेका छन्’, उनले भने, ‘जनचाहाना पूरा गर्ने दायित्व हाम्रै काँधमा छ ।’

राष्ट्रिय सभा सदस्य सांसद वृन्दा रानामगरले कांग्रेसको जागरण अभियानमा नेकपाका कार्यकर्ताले आक्रमण गर्नुले सरकार अधिनायकवादतर्फ उन्मुख प्रष्ट भएको बताइन् । उनले भनिन्– ‘निषेधको राजनीति गरेको नेकपाले कार्यक्रममाथि आक्रमण गर्नु लोकतन्त्रमाथिको ठाडो हस्तक्षेप हो ।’
कांग्रेस महासमिति सदस्य देवराज चालिसेले दुई तिहाईको सरकारले जनतालाई खुसीभन्दा पीडा दिने काम गरेको बताए । उनले भने, ‘सरकारबाट जनताले भ्रष्टचार, अराजकता, महंगी उपाहार पाएका छन् ।’

प्रदेश सांसद विन्दुकुमार थापाले सरकारले निषेधको राजनीति गरेको आरोपसमेत लगाए । उनले भने, ‘सरकारले बजेटलाई कार्यकर्तामुखी तवरबाट वितरण गरेको गरिएको छ । ’

कांग्रेस पोखरा १७ सभापति देवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य सोभियतबहादुर अधिकारी, ऋषि काफ्ले, केशव निर्दोषी, खेमकुमारी बराल, वीरेन्द्रमान बिजुक्छे, प्राध्यापक संघका पूर्व अध्यक्ष भूपति ढकाल, क्षेत्रीय सभापति माधव बास्तोला, प्रदेश ख सभापति दीपेन्द्र मरासिनी, प्रदेश कका विजयराज आचार्य, इकाइ उपसभापति दीपेन्द्र बराल, जिल्ला सहसचिव रंगीला आचार्य लगायतले जागरण अभियानले पार्टीमा एकताको सन्देशसहित मतदाताको घरघरमा पुग्ने प्रतिबद्धता गरे ।