अब ग्यास पनि पाइपलाइनबाटै

नेपाल आयल निगमले खाना पकाउले ग्यास (एलपिजी) पनि पाइपबाटै ल्याउने योजना बनाएको छ । रक्सौल बोर्डरदेखि चितवनको लोथरसम्म ग्यासको पाइप बिच्छ्याउने योजना रहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए ।

निर्देशक पौडेलका अनुसार बोर्डरदेखि चितवनको लोथरसम्म ९८ किलोमिटर रूटमा ग्यासको पाइप विछ्याउने योजना अघि बढाइएको छ ।

पाइपलाइनको सर्भे गर्न इण्डियन आयल कर्पोरेसनले एमएस एसोसियसनलाई जिम्मा दिएको छ । निगमको आग्रहमा इण्डियन आयल कर्पोरेसनले पाइपलाइनको सर्भे गरेको हो ।

पौडेलका अनुसार गत बुधबारदेखि एमएस एसोसिएसनलाई सात चरणको अध्ययन गर्ने जिम्मेवारी दिइएको छ । बोर्डरदेखि चितवनको लोथरसम्म करिब ९८ किलोमिटर दुरीमध्ये हालसम्म ९७ किलोमिटरमा पाइपलाइनको रेखाङ्कन गर्ने काम सकिएको छ ।

‘त्यस क्षेत्रमा जनसंख्याको घनत्व र माटोको परीक्षण गर्ने काम सकिएको छ । साढे ६७ किलोमिटरमा निगमले विस्तृत इन्जिनियरिङको सर्भे पुरा गरेको छ’, निर्देशक पौडेलले भने ।
निगमले लोथरमा खरिद गरेको २४ बिघा ९ कट्ठा जग्गामा ग्यासका लागि ४० हजार मेट्रिक टनको भण्डारण गृह निर्माण गरिरहेको छ। बोर्डरबाट चितवनको लोथरसम्म ल्याइएको ग्यासको पाइप उक्त ग्यास भण्डारण गृहमा जोडिने छ ।

भारतको हल्दियाबाट मुज्जफरपुरसम्म अहिले ग्यास पाइपलाइनको विस्तार गर्ने काम भइरहेको छ। यो पाइपलाइन मोतिहारीबाट रक्सौलको बोर्डरसम्म आएपछि यसमै लोथरको पाइपलाइन जोडिने निगमले जानकारी दिएको छ ।

विस्तृत इन्जिनियरिङ सर्भेपछि पाइपलाइनको लागत खर्च निकालिने छ । निगमका अनुसार ग्यासको पाइपलाइन विछ्याउन आइओसीलाई आग्रह गरिएको छ । अमलेखगञ्ज–लोथर पाइपलाइन विस्तारले प्रदेश २ र ३ का स्थानीयलाई पेट्रोलियम आपूर्तिमा सहज हुने निगमको विश्वास छ ।

यो बाहेक निगमले पेट्रोल पाइपलाइनको पनि अध्ययन गरिरहेको छ। त्यस्तै, अमलेखगञ्जसम्म ल्याइएको तेलको पाइप निगमले चितवनको लोथरसम्म जोड्न सर्भे गरिरहेको छ ।