गाउँपालिका तोडफोड आरोपमा पक्राउ वडाध्यक्ष रिहा गर्न माग

माछापुच्छ«े गाउँपालिका वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोमा नेपाली कांग्रेस कास्कीले ध्यानाकर्षण जनाएको छ । कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङले मंगलबार जारी गरेको विज्ञप्तिमा पक्राउ गरिएकालाई तत्काल बिना सर्त रिहा गर्न माग गरेका छन् ।

वडाध्यक्ष वीरेन्द्र गुरुङ, अध्यक्षका प्रत्यासी उम्मेद्वार खुसीमान गुरुङ, वडा नं. ८ का प्रत्यासी वडाध्यक्षका उम्मेद्वार रामबहादुर गुरुङ, नेपाली काँग्रेस क्षेत्र नं. ३ का सहसचिव राजाराम पौडेलसहित ४०÷५० जनालाई गाउँपालिका तोडफोड गरेको आरोप लगाइएकोमा पनि कांग्रेसले आपत्ति जनाएको छ ।

‘माछापुच्छ«े गाउँपालिकाका गतिविधिप्रति काँग्रेसका तर्फबाट ध्यानाकर्षण गराउदा बेवास्ता गरेपछि भदौ २५ गते सूचनाको हकसम्बन्धी संविधान प्रदत्त अधिकार प्रयोग गरी निवेदनसहित उनीहरु गाउँपालिका गएको विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिकाका अध्यक्ष २ महिनाका लागि विदेश भ्रमणमा रहेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेकी उपाध्यक्षलाई सूचनाका लागि आएको जानकारी दिदा सभाहलमा बस्न भनेको र ३ घण्टा बढी कुर्दा पनि नआएपछि पुनः बोलाएर छलफल गरी ७ दिनभित्र गाउँपालिकाका सम्पूर्ण सूचना उपलब्ध गराउने भनी सहमतिका साथ छलफल टुङ्गिएको विज्ञप्तिमा दाबी गरिएको छ ।

तर २ दिनपछि एकाएक गाउँपालिका कार्यवाहक अध्यक्षको नामबाट माछापुच्छ«े गाउँपालिकामा तोडफोड भएको भन्दै राजनैतिक प्रतिशोध लिइएकोप्रति विज्ञप्तिमा गम्भीर आपत्ति प्रकट गरिएको छ । विज्ञप्तिमा गाउँपालिकामा भएका आर्थिक अनियमितता, लाखौ लाख बेरुजु र विकास निर्माणमा भएको ढिलासुस्ती जस्ता जनताका सरोकारका विषयलाई हल्का रुपमा लिएर २ तिहाईको दम्भले उल्टै जनप्रतिनिधिलाई पक्राउ गरी संवाद सहमतिको बाटो अवरुद्ध गर्ने प्रयासप्रति आपत्ति प्रकट गरिएको छ ।