ताजा समाचार

भाद्र ३१ गते २०७६

विरौटामा खुल्यो किसान बजार

तरकारी, फलफुल उब्जाउने किसानले थोरै फाइदा लिएर बेच्ने तर उपभोक्ताले निकै महंगोमा किन्नुपर्ने वाध्यता अहिले बजारमा छ । उत्पादनमा कुनै योगदान नगर्ने बिचौलियाले किसानको भन्दा बढी फाइदा पाउने गरेका छन् ।

उत्पादक किसानलाई बढी फाइदा दिन र उपभोक्तालाई सुलभ मूल्यमा गुणस्तरीय तरकारी र फलफूल उपलब्ध गराउन पोखरा १७ विरौटमा किसान बजार खुलेको छ । पोखरा महानगरको सहयोगमा निर्माण भएको किसान बजार आज मेयर मानबहादुर जिसीले सुरुआत गरे ।
मेयर जिसीले किसानलाई प्रोत्साहन र उपभोक्तालाई स्वस्थ र सुलभ तवरले तरकारी उपलब्ध गराउन महानगर लागेको बताए । उनले नागरिक स्वस्थ भएमात्रै समृद्धि सम्भव हुने उल्लेख गर्दै किसानले उत्पादन गरेका तरकारी, फलफूलको बजारीकरणमा महानगरले सघाउने आश्वासन दिए ।

पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले काहुँखोला, ठूलीपोखरी र लेखनाथका केही ठाउँमा किसान बजार स्थापना गरिने बताए । पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले यस खालको बजार सञ्चालनले कृषिबाटै जीविकोपार्जन गर्नेहरुलाई प्रोत्साहन गर्ने बताए । उनले तरकारी र खाद्यान्नमा आत्मनिर्भर हुन पनि यसले सघाउने उल्लेख गरे ।

हालसम्म बजारमा महानगरको साढे ६ लाख लगानी भएको छ । २५ स्टल रहेको किसान बजारमा केही संरचना निर्माण अझै बाँकी रहेको किसान बजार निर्माण उपभोक्ता समिति अध्यक्ष चूडामणि बरालले बताए । पोखरा वडा नं. १७, २०, २१, २२ र २३ का कृषि सञ्जालमा आवद्ध किसानले आफ्ना उत्पादन यहाँ बिक्री गर्ने उल्लेख गरे ।

कार्यक्रममा भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव दुर्गा दवाडी, पोखरा १६ का अध्यक्ष जीवन आचार्य, पोखरा १७ का वडा सदस्य बैकुण्ठ भण्डारी लगायतले बोलेका थिए ।


Loading...