हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पुर्वी भाग औसत स्थान भन्दा थोरै उत्तरतर्फ रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर वर्षा हुने जनाएको छ ।
काठमाडौं उपत्यकासहित देशका अधिकांश भेगमा बिहानैदेखि मौसम बिग्रिएको छ । महाशाखाले भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित रहेको र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको जनाएको छ ।
हाल पूर्वी तराइ, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ । बाँकी भूभागमा आँशिकदेखि सामान्य बादलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वी भूभागका धेरै स्थानमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
त्यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने साथै मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने अनि नदीमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बुधबारको दिन
दिउँसो देशभर सामान्य बदली रही मध्य भूभागका धेरै स्थानमा र देशका बाँकी भूभागहका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
राति देशभर पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ । पश्चिमका एक दुर्इ स्थानमा भारी वर्षाको सम्भावना छ ।
बिहीबारको दिन
दिउँसो देशभर सामान्यदेखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
राति देशभर सामान्यदेखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
यस्तो छ पोखरा
पोखरामा ३ दिनदेखि प्रायःजसो लगातार पानी परिरहेको छ । मंगलबार राति पनि भारी वर्षा भएको थियो ।
पोखरामा भर्खरको अवस्था निकै ठूलो वर्षाको सम्भावना छ । मंगलबार बिहान ८ बजेसम्म झलमल्ल घाम लागेको भए पनि ९ः३० बजे अन्धकार भएको छ ।
जसका कारण पोखराको मौसमको अवस्था निकै डरलाग्दो देखिएको छ ।






