उपचुनावको मिति नजिकिँदै गर्दा कास्की २ सबैभन्दा बढी चर्चामा छ । संघीय संसदका लागि उपचुनाव हुने एकमात्र क्षेत्र कास्की २ हो । चुनावलाई लक्षित गरी दलहरुले आन्तरिक तयारी थालिसकेका छन् ।
यहाँबाट नेकपा सचिवालय सदस्य वामदेव गौतम उठ्ने चर्चा छ । तत्कालीन पर्यटनमन्त्रीसमेत रहेका कास्कीका लोकप्रिय नेता रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यहाँ चुनाव हुन लागेको हो । वर्दियाबाट चुनाव हारेका गौतम कतै न कतैबाट संघीय संसदमा छिर्ने दाउमा छन् ।
नेकपाले गौतमलाई चुनाव लड्न अनौपचारिक प्रस्ताव गरे पनि पार्टीले औपचारिक निर्णय गरेको छैन । गौतमले भने कास्कीबाट चुनाव लड्ने वा नलड्नेबारे पार्टीको निर्णय अन्तिम हुने बताएका छन् । उनले भने, ‘केपी कमरेडले तपाई चुनाव लड्नुस् भन्ने प्रस्ताव गर्नु भएको साँचो हो । तर, मैले चुनाव लड्छु भनेको छैन । प्रस्ताव आएपनि मैले कुनै निर्णय गरिसकेको छैन । दुवै अध्यक्षले निर्णय गरेर तपाई नै त्यहाँबाट चुनाव लड्नुस् भन्नु भयो भने मात्रै मैले मानसिकता बनाउने हो ।
साबिक एमाले र माओवादी केन्द्र दुवैको राम्रो पकड भएको बर्दियाबाट चुनाव हारेका गौतमलाई कास्कीमा पनि अन्तर्घातको डर छ । नेकपाभित्र रवीन्द्रकी श्रीमती विद्या भट्टराईलाई उम्मेद्वार बनाउने चर्चा पनि छ । उनले पनि यो निर्णय पार्टीले नै गर्ने बताउँदै आएकी तन् ।
नेता गौतमसमेत विद्यालाई नै चुनाव प्राथमिकता दिइने बताए । उनले भने, ‘विद्या कमरेड चुनाव लड्न चाहनुभयो भने पहिलो प्राथमिकता उहाँलाई नै हुन्छ ।’
उपचुनावलाई लक्षित गरी कांग्रेसले वडा वडामा प्रतिनिधि खटाइसकेको छ । नेकपाभित्र टिकटका लागि कसरत सुरु भएको छ । साझा पार्टी, समाजवादी पार्टीले पनि चुनावी तयारी गरेका छन् ।






