मनाङको एकै फर्मबाट ४५० टन स्याउ

स्याउ जोनको मान्यता पाएको हिमाली जिल्ला मनाङमा धमाधम स्याउ टिप्ने समय आएको छ । नेपालकै ठूलो स्याउ फार्मका रूपमा परिचित मनाङ एग्रोमा यतिबेला स्याउ टिप्ने काम भइरहेको छ ।

सेप्टेम्बर महिनाको सुरुदेखि स्याउ टिप्न थाल्ने भए पनि अहिले अलि ढिलो भएको हो । स्याउको रङ र स्वाद परीक्षण गरेरमात्र स्याउ टिप्न थालिने मनाङ एग्रोका अध्यक्ष समराज गुरुङले बताए । कम्पनीले स्याउको चाना, केक, जुस लगायत धेरै परिकार बनाउँदै आएको छ । अब कम्पनीले स्याउको वाइन बनाउने तयारी गरिरहेको उनले बताए ।

मनाङ एग्रोले ७ सय ३५ रोपनी क्षेत्रफल ओगटे पनि ४ सय ५० रोपनीमा स्याउ उत्पादन गर्दै आएको छ । कम्पनीले गत वर्ष ३ सय ५० टन स्याउ उत्पादन गरेको थियो । अहिले ४ सय ५० टन उत्पादन हुने अध्यक्ष गुरुङले बताए । अब मनाङको स्याउ नेपालमा मात्र नभई विदेशमा पनि आपूर्ति हुनेछ ।

यहाँ सर्र्वियाबाट ३ जातका स्याउका बिरुवा ल्याई व्यावसायिकरूपमा स्याउ खेती गर्दै आएको कम्पनीले वर्षेनी करोडौँ आम्दानी गर्न थालेको छ । समुद्री सतहदेखि २ हजार ९ सय मिटर उचाइमा रहेको फार्ममा गाला, फुजी र गोल्डेन गरी ३ जातका स्याउ छन् ।

मनाङ ङिस्याङ गाउँपालिका १ भ्रताङमा रहेको स्याउ फार्ममा अहिले ५० स्थानीय कामदार छन् । दैनिकरूपमा यी कामदारले स्याउको हेरचाह, कटिङ र स्याउ टिप्ने जस्ता काम गर्दै आएको कामदार पञ्च गुरुङले बताए । कम्पनीले स्याउको उत्पादनसँगै स्याउको परिकार निर्माण पनि गर्दै आएको छ ।

यहाँ स्याउ भण्डारण र प्याकिङ सबै मेसिनबाट गरिन्छ । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको कम्पनीले हाल नेपालका प्रमुख बजारमा आफ्नो उत्पादन पु¥याउन सफल भएको छ ।