नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत् खरिदमात्रै गरेको छैन । नियमितरुपमा विद्युत् निर्यात गरिरहेको छ ।
दैनिक ४० देखि ४५ मेगावाट विद्युत् विहार निर्यात भइरहेको छ । उताबाट पनि औपचारिकरुपमा माग भई आएकाले हाल दैनिकजसो नै ४० देखि ४५ मेगावाट विद्युत् निर्यात भइरहेको छ । प्राधिकरणले गत साउनको अन्तिम साता २ सय ५० मेगावाट भारत पठाई इनर्जी बैंकिङको अभ्यास गरेको थियो ।
कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट विद्युत् आयात गर्ने मात्रै नभई निर्यात भइरहेको जानकारी दिँदै चालु आर्थिक वर्षको अन्त्यसम्म त्यसको मात्रा बढ्ने जनाए । हाल रक्सौल–परवानीपुर प्रसारण लाइनमार्फत विद्युत् निर्यात भइरहेको छ । प्राधिकरणले कटैया कुशाहा १३२ केभी दोस्रो सर्किट र रक्सोल परवानीपुर १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी नेपाल र विहारबीच विद्युत् आदानप्रदान क्षमता विस्तार गरिरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणले रणनीतिक महत्वका ९ प्रसारण लाइन चालु आर्थिक वर्षको अन्त्यसम्म निर्माण गर्ने भएको छ । निर्माणाधीन आयोजनामा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउनका लागि महत्वपूर्ण मानिएका ती आयोजनाको कामको गति युद्धस्तरमा अगाडि बढेको जानकारी दिँदै प्राधिकरणले ऊर्जा क्षेत्रले थप सकारात्मक प्रभाव पर्ने विश्वास लिएको छ ।




