प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमेरशकुमार सिंहले सत्तारुढ दलले गृह प्रशासन दुरूपयोग गरेको आरोप लगाएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले यस्तो आरोप लगाएका हुन् ।
बाँकेको खजुरामा कांग्रेसको जागरण अभियानको कार्यक्रममा सत्तारुढ दलका कार्यकर्ताले सभापति किरण कोइरालामाथि गरेर लोकतन्त्रमाथि नै आक्रमण गरेको भन्दै उनले यस्तो आरोप लगाएका हुन् । संसदमा बाँके घटनाका बारेमा सदनलाई जानकारी गराएपछि बोल्दै सांसद सिहंले नेकपाले गृह प्रशासनको दुरुपयोग गरेको बताएका हुन् ।
उनले भने “यो लोकतन्त्रमाथिको हमला हो। सत्तापक्षले पार्टीको संरक्षण र सम्बर्द्धनका लागि राज्यको गृह प्रशासन दुरुपयोग गरिएको छ।”उनले घटनास्थलमा प्रहरीले समेत सुरक्षा दिन नसकेको भन्दै नेपाल प्रहरीको आलोचना पनि गरे । उनले अब नेपाल प्रहरीको नाम नेकपा प्रहरी राख्दा हुने भन्दै टिप्पणी गरे ।
“नेपाल प्रहरीको नाम नेकपा प्रहरी राख्दा अन्यथा नहोला ” उनले भने । साथै सांसद सिंहले कांग्रेसका नेता तथा कार्यकर्तामाथिको आक्रमण नेकपाका माथिकै निर्देशनमा घटाएको जस्तो देखिएको समेत आरोप लगाए ।






