बाँके घटनाले संसद अवरुद्ध

बाँके घटनाका सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाले तथ्य तोडमोड गरेको र अपराधीको नाम लुकाउन खोजेको भन्दै नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।

कांग्रेस सांसद गगन थापाले सरकारले वास्तविक अपराधी नेकपाका कार्यकर्ता रहेको र तिनलाई कारवाही हुनेमा आश्वस्त नपारेसम्म संंसद् चल्न नदिने बताए । 

गृहमन्त्री थापाले बाँके घटना घटाउने नकेपाको नीति र निर्देशन नभएको प्रष्टीकरण दिए । कांग्रेसका सांसदहरुले पञ्चायतमा सरकार कमजोर हुँदा मण्डले परिचालन गरेजस्तै अहिले नेकपाको सरकार कमजोर भएपछि अरिंगाल परिचालन गरेको आरोप लगाए ।

किटानी जाहेरी दिएका व्यक्तिको नाम नआएको भन्दै कांग्रेसले वास्तविक अपराधी लुकाउन खोजेको भन्दै गृहमन्त्रीको प्रष्टीकरणमा आपत्ति जनाएका थिए । कांग्रेसका सांसद सञ्जय गौतमले घटना प्रायोजित भएको बताए । 

कांग्रेस सचेतक पुष्पा भुषालले कांग्रेसको राष्ट्रिय जागरण अभियानका क्रममा बाँकेका पार्टी सभापतिमाथि आक्रमण भएको विषयलाई गृहमन्त्रीले सामान्य भनेकोमा आपत्ति जनाइन् । उनले किटानी जाहेरी तत्काल दर्ता गर्न निर्देशन नदिएसम्म संसद अगाडि बढ्न नसक्ने बताएकी थिइन् ।

कांग्रेसका सांसदहरु आफ्नो आसनमा नबसेपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगन गरेका छन् । गत बिहीबार बाँकेको खजुरामा कांग्रेसको जागरण कार्यक्रममा आक्रमण हुँदा बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो ।