मन्त्री योगेश भट्टराई प्रकरण : ज्ञानेन्द्र शाहीमाथि हातपात, प्रहरीको ‘सुरक्षा’

नेपालगञ्जमा शनिबार भएको घटनाबारे पत्रकार सम्मेलन गरिरहेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले आफ्नै कार्यालयमा राखेर सुरक्षा प्रदान गरेको जनाएको छ ।

शनिबार पर्यटन मन्त्री योगेश भट्टराईलाई पर्खिंदा नेपालगञ्जबाट काठमाडौं आउनु पर्ने विमान ढिलो गरी उडेको विषयमा विवाद चर्किएपछि शाहीले ललितपुरमा पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

मन्त्रीले आफ्ना कारण १५ मिनेटमात्रै ढिलो भएको बताएपछि ‘नेपालका लागि नेपाली अभियान’का अभियन्तासमेत रहेका शाहीले त्यसको खण्डन गर्न पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

महानगरीय प्रहरी परिसर लतिलपुरका एसएसपी टेकप्रसाद राईका अनुसार पत्रकार सम्मेलनमा शाही र सहभागीबीच चर्काचर्की भएपछि प्रहरीले अप्रिय घटना नहोस् भन्नका लागि उनलाई सुरक्षा प्रदान गरेको छ । 

एसएसपी राईले भने, ‘‘उहाँ अहिले प्रहरी परिसरमै हुनुहुन्छ । हामीले सुरुमै सुरक्षा दिन्छौं भनेका थियौं । उहाँले चाहिँदैन भन्नुभयो । पछि कोठाभित्र हल्लाखल्ला भएपछि सुरक्षाका लागि हामीले ल्याएका हौं ।’’

शाहीको समूहले कुपण्डोलको एक होटलमा कार्यक्रम राखेको थियो । शनिबार मन्त्री भट्टराई र शाही नेपालगञ्जबाट एकै जहाजमा काठमाडौं आएका थिए ।