पोखरा सभागृह बनाउन दक्ष जनशक्ति पाएनौं : मेयर जिसी

पोखरा सभागृह बनको धेरै वर्ष भैसक्यो । तत्कालिन दीपेन्द्र सभागृह जनआन्दोलनसंगै पोखरा सभागृहमा परिणत भयो ।

सभागृह दिनदिनै जीर्ण बन्दै गएको छ भने हलका कुर्चीहरू कामै नलाग्ने अवस्थामा पुगेका छन् । योसम्मकि कुर्चीमा बस्दा कि किलाले कोपेर घाइते बनिन्छ, कि कपडा च्यातिन्छ ।

यतिबेला पनि सभागृहको रंग उँडेर हेर्ने मन नलाग्ने अवस्थामा छ । नयाँ सभागृह बनाउने भन्ने चर्चा र बहस धेरै भए । सभागृह लामो समयदेखि मर्मत समेत हुन सकेको छैन । जसका कारण सभागृहमा कार्यक्रम हुनै छाडिसकेका छन् ।

तत्कालिन पोखरा उपत्यका नगर विकास समिति र पोखरा उपमहानगरको द्धन्दको चपेटामा परेको सभागृह पोखरा महानगरको स्वामित्वमा आएको ३ वर्ष हुँदा समेत जस्ताको तस्तै छ ।

यस विषयमा पोखरा महानगरका मेयर मानबहादुर जिसीले बल्ल मुख खोलेका छन् । उनले दक्ष कामदारको अभावमा सभागृह बनाउन नसकिएको बताए । उनले सभागृहको डिजाइनर र डिपिआर गर्ने मान्छे नपाएर हैरान भएको स्पष्ट पारे ।

उनले भने, ‘डिपिआर र डिजाइनर खोज्दा खोज्दै १ वर्ष लाग्यो । बल्ल काठमाडौंमा १ जना भेट्टाएका थियौं । उहाँले पनि धेरै समय लगाइदिनुभो । डिजाइन त तयार भयो । अब बनाउने उपयुक्त मान्छे नै छैनन् ।’

‘यहाँ कामको प्रतिफल घण्टा घण्टामा खजिन्छ तर विविध समस्याले लामो समय लाग्छ । जताततै समस्या नै समस्या’, उनले भने ।

मेयर जिसीले एउटा भवन बनाउन ४/५ जना फरक फरक विषयमा ईन्जिनियर आवश्यक पर्ने भएकाले खोज्दा खोज्दैमा समय गुज्रिएको बताए ।

पोखरा सभागृहलाई पुरानैमा टालटुल होइन नयाँ नै बनाउन खोजेको उनले स्पष्ट पारे । मेयर जिसीले अब ८०० जना क्षमताको नयाँ सभागृह १० करोड रुपैयाँको लागतमा बन्ने बताए ।

उनले भने, ‘केही समय लाग्न सक्छ तर सभागृह नयाँ नै बन्छ ।’ उनले सभागृह पोखराको गहना भए पनि बनाउन समयमै बनाउन नसक्दा आलोचना खेपिरहनुपरेको गुनासो समेत गरे ।