बाल तथा महिला सशक्तिकरणको साधारणसभा

बाल तथा महिला सशक्तिकरण समाज नेपाल (सिडब्लुइएस) को २० औं साधारणसभा शनिवार पोखरामा सम्पन्न भएको छ ।

समाजमा पछाडि पारिएका महिला तथा बालबालिकाहरूको शिक्षा, स्वास्थ्य, आर्थिक अवस्थालाई सुदृढ गरी सामाजिक अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ वि.सं. २०५५ सालमा विभिन्न क्षेत्रका महिलाहरूले सिडब्लुइएस स्थापना गरेका थिए ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य तथा वडा नं ५ की सदस्य हरिमाया विकले गरेकी थिइन् ।

संस्थाको पूर्वसचिव समेत रहेकी वि.क.ले सिडब्लुइएसमा संलग्न भएर क्षमता अभिवृद्धि गर्न सफल भएको भन्दै कार्यक्रममा विभिन्न अनुभव समेत सुनाएकी थिइन् । बालबालिका तथा महिलाहरूको अधिकार संरक्षणका क्षेत्रमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले आगामी दिनमा पनि अझ सशक्त भएर संस्थालाई अगाडि बढाउन आवश्यक रहेको बताइन् ।

गैरसरकारी संस्था महासंघ कास्की शाखाका कार्यसमिति सदस्य केशु भुजेलले अत्यन्त जोखिमपूर्ण क्षेत्रमा काम गरिरहेको भन्दै संस्थाको प्रशंसा गरिन् ।

संस्थापक, संरक्षक तथा सल्लाहकार विष्णुकला भण्डारीले महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थामा रुपान्तरण गर्ने भनेर स्थापना गरिएको संस्था त्यस कुरामा निरन्तर लागिरहेको बताइन् ।

सिडब्लुइएसले समाजमा ऐतिहासिक भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले संस्थागत विकासको लागि सशक्त भएर अगाडि बढ्न जरुरी रहेको धारणा राखिन् ।

निर्वतमान अध्यक्ष रजनी कोइरालाले सामुहिक प्रयासमा स्थापना भएको यो संस्थाले समाज परिवर्तनका क्षेत्रमा अझै धेरै कामहरू गर्नुपर्नेमा जोड दिइन् ।

पूर्वअध्यक्ष सीता भट्टराईले बाल तथा महिलाहरू आँफैमा पछाडि परेको वर्ग भएका कारण उनीहरूको हकहितका लागि काम गर्न भनेर स्थापना गरिएको संस्था महिलाहरूको एउटा प्रयास भएको बताइन् ।

कार्यक्रममा संस्थाकी पूर्वअध्यक्ष ईन्द्रकुमारी अधिकारी र पोखरा आवाज राष्ट्रिय दैनिकका सम्पादक अनुप प्रकाश पौडेलले मन्तव्य राखेका थिए ।

संस्थाकी उपाध्यक्ष मीना पाण्डेले स्वागत मन्तव्य, सचिव जमुना शर्माले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मिना लिगलले आर्थिक प्रतिवेदन कोषाध्यक्ष मिना प्रस्तुत गरेका थिए ।

संस्थाले समाजमा पछाडि पारिएका महिलाहरूको शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँच र महिलाहरूको आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनैतिक अधिकार सुनिश्चितताका लागि सशक्तिकरण गर्ने एवम् बालबालिकाहरूको गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच तथा मर्यादापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

सो संस्थाले गत वर्ष विभिन्न कार्यक्रम आयोजना गरेको तथा अन्य विभिन्न क्रियाकलापमा संस्थागत सहभागीता जनाएकोे पनि जानकारी दिएको छ । पछिल्लो समयमा विकसित व्यस्त जीवन शैलीका कारण व्यक्तिले आफ्नो मानसिक, शारिरीक स्वस्थ्यलाई ध्यान दिन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै तनावरहित स्वस्थ जिवनयापनको लागि एक्सन एड नेपालका पूर्वकन्ट्रि डाईरेक्टर विमल फूयालबाट जीवन पर्यन्त सिकाईहरू विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको थियो ।

यसैगरी महिलाहिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा पोखरा गैह्रापाटनस्थित नविन माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरूलाई हिंसा विरुद्धको सचेतना कार्यक्रम, पोखरा गैह्रापाटनकै सिद्धार्थ आमा समूहलाई कानुनी सचेतना कार्यक्रम, संस्थाकै आजीवन, साधारण सदस्य, कार्यसमितिका पदाधिकारीहरू र कर्मचारीहरूलाई कानुनी सचेतना तथा मनोसामाजिक परामर्श, रामकृष्ण टोल मिसाः पुचमा मनोसामाजिक सुरक्षा तथा सहयोग सम्बन्धि अभिमुखीकरण तालिम गरेको थियो ।

आगामी दिनमा त्यसलाई निरन्तरता दिँदै अरु कार्यक्रमहरू पनि गर्ने लक्ष्य राखिएको पनि जनाइएको छ । त्यसका लागि संस्थागत कोष अभिवृद्धिका गर्न च्यारिटी शो र देउसी भैलो कार्यक्रम, स्थानीय तह तथा प्रदेश सरकारसंग समन्वय, आत्मरक्षा सम्बन्धी तालिम गर्ने लगायतका लक्ष्य निर्धारण गरिएको छ ।