मतदान नै गरेर भए पनि नागरिक विधेयक पास गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको प्रयास असफल भएको छ । अब यो विधेयकको वैवाहिक अंगीकृत नागरिताबारे शीर्ष तहमा सहमति खोजिनेछ ।
शनिबारको बैठक सुरु हुनुुपूर्व सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु मतदान गरेरै भएपनि नागरिकता विधेयक पास गर्ने पषमा देखिएका थिए । उनीहरु विदेशी बुहारीलाई ७ र ज्वाइँलाई बिहेको १५ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था गर्ने पक्षमा छन् ।
त्यसको संकेत पाएको प्रमुख विपक्षी नेपाली कांग्रेसले समिति सभापति शशी श्रेष्ठले अंगीकृत नाकगरितासम्बन्धी प्रस्ताव पढ्ने वित्तिकै लिखित रुपमै फरक मत राख्यो ।
फरक मतबारे समित सदस्यहरुलाई जानकारी दिँदै कांग्रेस सांसद अमरेशकुमार सिंहले नागरिकता विधेयकमा सरकारले ल्याएको प्रस्तावले संवैधानिक संकट आउने चेतावनी दिए ।
कांग्रेसको फरक मतपछि समिति सभापति श्रेष्ठले आधा घण्टाका लागि बैठक स्थगित गरिन् ।
पुनः बसेको बैठकको माहोल फेरियो । नेकपाका सांसदहरु नै सहमतिको पक्षमा देखिए ।
शीर्ष नेताहरुको फोन
भएछ के भने बैठक स्थगित भएपपछि सत्तारुढ र विपक्षी सांसदहरुले पार्टी नेतृत्वसँग टेलिफोन सम्वाद गरेछन् । त्यही सम्वादका आधारमा मतदान नगर्ने निर्णयमा पुगे । बैठकमा नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले को नेता कहाँ छन ? र कहिले काठमाडौं आइपुग्छन् भन्नेबारे जानकारी गराए ।
उनकाअनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ इलाममा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा दाङमा छन् । तीनै जना शनिबार काठमाडौं आइपुग्छन् ।
यस्तै राष्ट्रिय जनता पार्टीका संयोजक राजकिशोर यादवले प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुरा गरेछन् । प्रधानमन्त्रीसँग आफ्नो कुरा भएको जानकारी गराउँदै राजपा संयोजक यादवले भने, ‘उहाँले एक दुई दिनमा कुरा मिल्छ भन्नुभएको छ ।’
बैठकमा नेकपा सांसदद्धय जनार्दन शर्मा र पम्फा भुसालले कांग्रेसको फरकमत आएको अवस्थामा नागरिकता बिधेयकमाथि थप छलफल गर्नुपर्ने देखिएको बताए ।
‘कांग्रेसको फरक मत आएको छ । यो विषयमा राजनीति गर्ने नभई राष्ट्रिय सहमति कायम गर्नुपर्छ । अब समिति र बाहिरबाट शीर्ष नेताहरुसम्म यो विषयलाई पुर्याऊँ’ सांसद भुसालले भनिन् ।






