फरार अभियुक्तको सत्कारमा सिडियो र एसपी, संरक्षक मन्त्री

एक फरार अभियुक्तलाई नेपाल सरकारका मन्त्रीदेखि गुल्मी जिल्लाका सिडियो, एसपीसहितका सुरक्षा निकायका प्रमुखहरुले स्वागत सत्कार गरेका छन् ।

गुल्मीको साविक वस्तु गाविस वडा नम्वर ३ का विजय भण्डारी वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियक्त हुन् ।

विष्णु प्रपन्चार्यको उपनामले र केही वर्ष यता बालयोगेश्वर महराजको उपनामले विभिन्न स्थानमा महयज्ञका प्रमुख वाचक रहँदै आएका भण्डारी वैदेशिक रोजगार न्यायधीकरण इजलासबाट  वैदेशिक रोजगारको ठगी कसुरमा १ वर्ष ५ महिना र २६ दिन कैद सजायका फरार प्रतिवादी हुन् ।

२०७५  साल जेठ २७ गते सम्वन्धित जिल्ला अदालत गुल्मीमा उक्त कैद लागत कसी असुल गर्नु भनि जिल्ला अदालत गुल्मीमा पत्र पठाएको छ ।

फरार अभियुक्त रहेका भण्डारीले आइतबारदेखि २१ दिनसम्म सञ्चालन गर्न लागेको विराट महायज्ञ मुल समारोह समितिको प्रमुख संरक्षक संघीय सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र वरिष्ठ संरक्षक प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बराल रहेका छन् ।

उक्त पत्र पठाएको झण्डै चार महिना बित्दा पनि अभियुक्त भनिएका विष्णु प्रपन्चार्य भनिने बालयोगेश्वर महाराज उर्फ विजय भण्डारी सिडियोदेखि प्रहरी प्रमुखसँग खुलेआम नमस्कार र  प्रणाम साटासाटा  गरेर हिँडिरहेका छन् ।

आजदेखि २१ दिनसम्म चल्ने धार्मिक महायज्ञको नेपाल पञ्चाङ्ग निर्णय समितिले  रोक लगाउँदा–लगाउँदै पनि प्रमुख वाचकका रुपमा कार्यक्रम सञ्चालन सुरु गरेका छन् ।

उक्त महायज्ञको  मन्त्री  प्रदीप ज्ञवलीले भव्य समारोहका बीच उद्घाटन गरिरहँदा उनकै पार्टी यहाँका अन्य धार्मिक व्यक्तिहरुले भने विरोध जनाएका छन् । महायज्ञ प्रचारका क्रममा स्याङ्जा, पाल्पा, बुटवल र काठमाडौँसम्मका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई लाखौँ रुपैयाँ खर्चिएको आरोप समेत लागेको छ ।