पोखराको पुरानो सामाजिक संस्था सिद्धार्थ क्लबको महत्वपूर्ण पदहरूमा महिला पुगेका छन् । अन्य संघसंस्थामा महिलाको संख्या र उपस्थिति ज्यादै न्यून भइरहेको अवस्थामा सिद्धार्थ क्लबको महत्वपूर्ण पदहरूमा महिला पुगेका छन् । साथै क्लबको ११ पदमध्ये ५ पदमा महिला चयन भएका छन् ।
क्लबको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सचिव र सहसचिव र सदस्य पदमा महिला पुगेका हुन् । अध्यक्ष पदमा पार्वती माकाजू चयन भएकी छन् ।
उनले शनिबार पदस्थापन, पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । उनी संस्थाको यसअघिको कार्यकालमा वरिष्ठ उपाध्यक्षको भूमिकामा थिइन् ।

यस्तै क्लबको वरिष्ठ उपाध्यक्षमा तीर्थ श्रेष्ठ चयन भएकी छन् । उनी यसअघिको विनोद श्रेष्ठको कार्यकालमा द्धितीय उपाध्यक्षको भूमिकामा थिइन् । सचिवमा ईन्दिरा मर्सानी श्रेष्ठ र सहसचिवमा मिथिला श्रेष्ठ मल्ल रहेकी छन् । यस्तै कार्यसमिति सदस्य पदमा जमुना अधिकारी चयन भएकी छन् ।
क्लबको द्धितीय उपाध्यक्षमा यसअघि सचिवको भूमिका निर्वाह गरेका प्रमोद नारायण श्रेष्ठ, निर्देशकमा सचिन श्रेष्ठ, कोषाध्यक्षमा प्रकाशमान श्रेष्ठ र सदस्यहरूमा सुरेशकुमार श्रेष्ठ, नवराज गोठाजू, मदनकुमार मुल्मी छन् । क्लबको सल्लाहकार समिति संयोजकमा भने हिराकाजी श्रेष्ठ चयन भएका छन् ।
शपथ ग्रहण पश्चात नवनिर्वाचित अध्यक्ष माकाजूले आफ्नो कार्यकालमा नयाँ एम्वुलेन्स किन्ने योजना रहेको बताइन् ।




