पोखरामा डेंगु हल्लामात्रै हो : मेयर जिसी

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरामा फैलिएको भनेको डेंगु महामारी हल्लामात्र भएको बताएका छन् ।

शनिबार पोखरामा आयोजित एक कार्यक्रममा मेयर जिसीले रुघाखोकी लागेका व्यक्तिलाई पनि डेंगु लागेको भनेर हल्ला फिंजाइएको बताए ।

‘रुघाखोकी अघिल्ला वर्षमा पनि लागेका थिए । ज्वरो अघिल्ला वर्षमा पनि आएका थिए । उपचारका लागि अस्पतालमा पनि गएका थिए’, उनले प्रश्न गरे, ‘तर यसवर्ष कसले कहाँबाट हल्ला फिँजायो ?’ रुघाखोकी लागेका र ज्वरो आउँदैमा डेंगु नहुने भन्दै उनले नआत्तिन आग्रह गरे ।

पोखरामा डेंगुको महामारी भनेर आतंकित पार्ने काम मात्र भएको भन्दै उनले भने, ‘वास्तवमा पोखरामा डेंगु नै छैन ।’

पोखरा बाहिरबाट आएका मानिसमा डेंगु भेटियो भन्दैमा सबैलाई डेंगु लाग्यो भन्न नमिल्ने उनले स्पष्ट पारे ।