मेयर मानबहादुर जिसीलाई कुर्दाकुर्दा….

पोखराको मुटु चिप्लेढुंगास्थित एक हलमा आयोजित पोखराकै एक परिचित संस्थाको महत्वपूर्ण कार्यक्रम । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण । कार्यक्रमको ११ बजे शुरु हुने भनिएता पनि ११ः३० मा शुरु भएको थियो ।

प्रमुख अतिथि जिसीको पर्खाइसंगै कार्यक्रम विस्तारै अघि बढ्दै गयो उद्घाटन बाँकी राखेर । स्वागत भयो, संस्थाको बारेमा चर्चा गरियो, विभिन्न व्यक्तित्वलाई सम्मान गरियो ।

नयाँ कार्यसमितिको पदस्थापन, शपथ ग्रहण पनि भयो । प्रमुख अतिथि जिसी अझै आइपुगेनन् । आयोजकको मनमा चिसो पलाउँदै गयो । त्यसपछि कार्यक्रम अझै अघि बढ्यो । अतिथि, विशेष अतिथिहरूले मन्तव्य राखिसके ।

धैर्यताको बाँध टुट्दै गएपछि कार्यक्रममा सहभागीहरू बाहिरिनेक्रम धमाधम भइरहेको थियो । कार्यक्रम स्थलका अधिकांश कुर्ची रित्ता हुँदै गए ।

आयोजकले समय कटाउन प्रमुख अतिथिलाई पर्खन वक्ता नै नराखिएका व्यक्तिलाई बोल्ने समय दिइरहेका थिए । करिब २ घण्टा १५ मिनेटको पर्खाई पछि मेयर जिसी कार्यक्रम स्थलमा पसे । आयोजकमा केही खुशी छायो ।

मेयर जिसी भन्दा अघि बोल्ने विशेष अतिथिले मेयर जिसी ढिलै भए पनि आफ्नो प्रतिवद्धता पूरा गर्न आउनु हुन्छ भन्दै व्यंग्य कसेका थिए ।

मेयर जिसी आएपछि कार्यक्रम उद्घाटन गरे । अनि मन्तव्य राख्न शुरु गरे । शुरुमै उनले आयोजकसंग माफी मागे । उनले भने, ‘म समयमै आउन सकिन, करिब सवा २ घण्टा यहाँहरूलाई तड्पाउनु परेकोमा क्षमा चाहन्छु ।’

उनले आफू अर्कै कार्यक्रममा अल्झिनु परेका कारण ढिलो भएको स्पष्टिकरण दिएका थिए ।