डंगुबारे फेरि टोल टोलमा अभियान

पोखरा महानगरमा डंगुको त्रास बढिरहेकै छ । शुक्रबारसम्म पोखरामा १२ सयभन्दा बढीमा डंगु फेला परेको छ । उपचारमा नआएका अझै ठूलो संख्या बिरामी हुनसक्ने आकलन छ ।

महानगरमा डंगुका बिरामी बढिरहदा पोखरा १७ मा मात्रै १ सय ४ जनामा डंगुरोग पहिचान भएको छ । एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबारे यसअघि सचेतना अभियान चलाइसकेको पोखरा वडा नं. १७ ले फेरि अभियान सञ्चालन गर्ने भएको छ ।

वडालाई ६ भागमा विभाजन गरी समूह समूहमा टोल टोल बस्ती बस्तीसम्म डंगुरोग निवारणका उपाय र लामुखुट्टेका बासस्थान नष्ट गर्ने योजना छ । शुक्रबार पोखरा १७ को सहरी स्वास्थ्यको आयोजना र वडाध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा १७ का जनप्रतिनिधि, शहरी स्वास्थ ब्यबस्थापन समिति, स्वास्थ्य कर्मचारी र महिला स्वास्थ स्वयंसेवकहरु उपस्थित थिए । डंगुका बिरामी बढेकाले वडावासीलाई सचेत बनाउन टोल टोलसम्म अभियान चलाउन लागिएको पोखरा १७ का वडा सदस्य एवं कार्यपालिका सदस्य राधिका शाही योगीले बताइन् ।

कार्य क्षेत्र बिभाजन गरी डंगु रोग उन्मुलन तथा सचेतना अभियान चलाउने निर्णय भएको सामाजिक अभियन्ता एवं महिला स्वास्थ्य स्वयंसेवक सविता सुवेदीले बताइन् ।