पोखराका वडाध्यक्षको गुनासो : मेयरका मान्छे कमिसनमा लागे

पोखरा महानगरपालिकाका एक वडाध्यक्षले महानगरभित्र चरम भ्रष्टाचार र कमिशनको खेल भइरहेको दाबी गरेका छन् ।

पोखरा २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले वडाबाट जनप्रतिनिधिले सर्वसम्मत रुपमा महानगरमा पेश गरेका योजनासमेत कमिशनको खेलमा बदलिएर आउने गरेको खुलाए । तिमिल्सिना र मेयर दुवै नेकपाबाटै निर्वाचित हुन् ।

नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का वडा कमिटी पोखरा २५ को शपथ ग्रहण कार्यक्रममा तिमिल्सिनाले वडाबाट छनोट भएका योजना रातो कितावमा नआएकोमा गुनासो गरे । उनले भने, यो त भएन मेयर साप भनेर भन्दा ‘मैले राखेको हुँ । यस्तै भए जनप्रतिनिधि किन चाहिए ?
मेयर मानबहादुर जिसी राम्रो मान्छे भए पनि उनका मान्छे र कर्मचारीहरु खराब भएको तिमिल्सिनाले नेपालदुतलाई बताए । २०५४ सालको स्थानीय चुनाव जितेपछि पनि जिसीसँग सहकार्य भएको स्मरण गर्दै उनले के बोल्ने, के नबोल्ने अवस्था आएको सुनाए । महानगरमा पछि थपिएका वडालाई विकासमा प्राथमिकता दिनुपर्नेमा त्यसो नभएको उनले गुनासो ।

कार्यक्रममा वडाध्यक्ष तिमिल्सिनाले भने ,‘छातीमा हात राखेर भन्छु महानगर भित्र प्रवेश गर्न मलाई चाँही मन छैन । महानगरका हरेक कर्मचारी भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । मेयर सापले राखेका मान्छे अहिलेपनि कमिशनमा डुबेका छन् यो कुरा कसलाई गएर भन्ने ?

शोभाखर तिमिल्सिना

महानगरमा कम्युनिष्ट पार्टीको स्पष्ट बहुमत हुँदासमेत स्वाभिमानी वडाध्यक्षले उठाएका योजना क्यान्सिल गर्ने गरिएको र कमिशन खुवाउनेहरुका योजना समावेश गर्ने गरिएको आरोप तिमिल्सिनाको छ । महानगरमा भ्रष्टाचार नगर्ने र कमिशन नदिने वडाध्यक्षलाई दोस्रो दर्जाको व्यवहार गर्ने गरिएको गुनासो गर्दै तिमिल्सिनाले कहिलेकाँही आफूलाई राजीनामा दिउँ कि जस्तो लाग्ने गरेकोसमेत उल्लेख गरे ।

कार्यक्रममा नेकपा कास्की जिल्ला सहइन्चार्ज सीता गिरीले पार्टीले सरकार सञ्चालन गर्ने भएकाले सरकारको काम प्रभावकारी बनाउन संयन्त्र गठन गरिने बताईन् । प्रदेश सांसद रामजी बरालले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता लोभी पापी भए प्राप्त उपलब्धीसमेत गुम्ने खतरा औंल्याए ।

कार्यक्रममा जिल्ला सदस्य शोभाखर भण्डारी, पूर्व पार्टी प्रमुख टिकाराम पौडेल, वडाध्यक्ष माधवशरण पौडेल लगायतले पार्टी र सरकारका काम प्रभावकारी बनाउँदै जनतासम्म जानुपर्ने बताएका थिए ।

पोखरा २५ मा नेकपाको ४५ सदस्यीय वडा कमिटी बनेको छ ।