पोखरा महानगरपालिका वडा नं. ८, सिद्धार्थचोकस्थित नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्कीका उत्कृष्ट सहकारीको सूचीमा परेको छ ।
कास्कीमा महिलाहरूद्धारा संचालित करिब ५० वटा सहकारी छन् । तीमध्ये नवसिद्धार्थ उत्कृष्ट ५ भित्र पर्ने नेफ्स्कुनका सञ्चालक एवं गण्डकी प्रदेश संयोजक भीम गुरुङले जानकारी दिए । उनले नवसिद्धार्थ सहकारीको शुक्रबार भएको १७औं साधारणसभाको अवसमा उक्त जानकारी गराएका हुन् ।

उनले भने, ‘पोखरामा ५० वटा जति महिलाद्धारा सञ्चालित सहकारी छन् । तीमध्येमा नवसिद्धार्थ उत्कृष्टको सूचीमा छ । पुँजीको हिसाबले अन्य केही सहकारी ठूला भए पनि सबै सूचकांकको हिसावले नव सिद्धार्थलाई उत्कृष्टको सूचीमा नेफ्स्कुनले राखेको छ ।’
उनले नव सिद्धार्थको सबै सूचकांक सक्रिय रहेकाले यसको भविष्य उज्वल रहेको स्पष्ट पारे । सहकारीहरू मर्ज गर्ने अवस्था आएमा नव सिद्धार्थमा अन्य सहकारीलाई ल्याउन सझाव दिंदै उनले आफ्नो पहिचान मेटिने गरी मर्जमा नजान आग्रह गरे ।

‘सकेसम्म क्षमता बढाउनुस्, कार्यक्षेत्र विस्तार गर्नुस् । यदि मर्जमा जानै परे पनि अन्य सहकारी ल्याउनुस्, आफ्नो पहिचान र नाम मेटिने गरी नजानुस्’, उनको सुझाव थियो । साथै गुरुङले महिलाद्वारा सञ्चालित सहकारीमा पुरुषले पनि साथ दिनुपर्ने खाँचो औंल्याउँदै सहकारीमार्फत नै देखिने गरी छिटो छिटो प्रगति गर्नुपर्ने बताए ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले नवसिद्धार्थ उद्देश्य अनुरुप नै अघि बढेको आफूले पाएको भन्दै प्रशंसा गरिन् । उनले सहकारी स्थानीय तहमा पर्ने भएकाले सोही अनुरुप सहकारी ऐन महानगरले ल्याएको बताइन् ।

सहकारी ऐन–२०७४ पास गरेर नियमावली बनाउने काम तीव्र रुपमा अघि बढिरहेको भन्दै उनले केही रचनात्मक र सकारात्मक सुझाव छन् भने दिन आग्रह गरिन् । उपमेयर गुरुङले महानगरले विभिन्न सहकारीसंग समन्वय गरेर अघि बढिरहेको भन्दै नवसिद्धार्थलाई पनि विशेष प्राथमिकतामा राख्ने बताइन् ।
कास्की बचत संघका सचिव दीपक प्रकाश आचार्यले हालै आएको सहकारी नियमहरू कार्यान्वयन गर्न समस्या हुने भन्दै संशोधन हुनुपर्नेमा जोड दिए । साथै उनले आर्थिक कारोबारको केन्द्र आफ्नै सहकारीलाई मात्र बनाउनुपर्ने खाँचो औंल्याए ।
शुभ सिद्धार्थ सहकारीका कोषाध्यक्ष गणेश छवीले नव सिद्धार्थ र शुभ सिद्धार्थबीच दिदीभाइको जस्तो सम्बन्ध रहेको बताए ।
कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष शान्ता श्रेष्ठ, सिद्धार्थ क्लबका अध्यक्ष विनोद श्रेष्ठ, बगालेटोल सुधार समितिका अध्यक्ष हिराकाजी श्रेष्ठ लगायतले बोलेका थिए ।
संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक तारा कोइरालाले स्वागत, सचिव शारदा गौतमले सञ्चालन र शिक्षा समिति संयोजक ईन्दिरा मर्सानीले सहकारी सिद्धान्त वाचन गरेकी थिइन् ।
साधारणसभाले सचिव शारदा गौतम, कोषाध्यक्ष सीताकुमारी सापकोटा, लेखासमिति संयोजक लक्ष्मी अधिकारीले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गर्यो ।

कार्यक्रममा एसईई उत्तीर्ण संस्थाका बाल बचत सदस्य दिपिशा कोइराला, ओस्कार कोइराला, सुनयना गहतराजलाई सम्मान गरिएको थियो । यसैगरी संस्थाका ज्येष्ठ सदस्यहरू लक्ष्मीदेवी पराजुली, कृष्णकुमारी श्रेष्ठ, दुर्गादेवी श्रेष्ठ र लक्ष्मी मर्सानीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
यस्तै उत्कृष्ट बाल बचतकर्ता अस्मित गुरुङ, उत्कृष्ट दैनिक बचतकर्ता बुद्ध शर्मा कुँवर, सफल उद्यमी चिलिमाया कुमाल, सत्यदेवी श्रेष्ठ र उत्कृष्ट निक्षेपकर्ता संगीता खतिवडालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

पोखराको ५ वटा वडामा मात्र कार्यक्षेत्र रहेको सहकारीमा ५ सय ५५ जना महिला शेयर सदस्य छन् । सहकारीको कुल पुँजी ३ करोड ७ लाख, निक्षेप संकलन ४ करोड २८ लाख र ऋण लगानी ४ करोड ७४ लाख रुपैयाँ गरेको छ ।
सहकारीको आगामी आवमा शेयर सदस्य संख्या २५ प्रतिशत, शेयर रकम २० प्रतिशत र निक्षेप संकलन २५ प्रतिशत र कर्जा लगानीमा पनि २० प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखिएको संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार संस्थाले छिट्टै सूचना अधिकारी समेत नियुक्त गर्नेछ ।




