नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बारा जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।
शुक्रबार दिउँसो बाराबाट विप्लव समूहका जिल्ला सेक्रेटरी शतिश मिश्र पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए । उनका अनुसार देशैभर सुरू गरेको सर्च एन्ठ एरेस्ट अभियानअर्न्तगत उनलाई पक्राउ गरेको हो ।
आजै प्रहरीले ‘विप्लव’ समूहकै बाजुरा सहसेक्रेटरीलाई पक्राउ गरेको थियो । बाजुराको प्रहरी टोलीले बाजुरा बुढीगंगा नगरपालिका-७ खारखेत वाईलटोलका सह-सेक्रेटरी ५० वर्षीय दान बहादुर खड्का (किशोर) लाई पक्राउ गरेको थियो ।
समूहको संगठन बिस्तार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधार खड्कालाई विभिन्न दस्ताबेजसहित पक्राउ गरिएको प्रहरीले बताएको थियो ।
यसअघि । नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँगको वार्ताका लागि लचक हुने संकेत दिएका थिए । तर, सरकारले निरन्तर विप्लव समूहमाथि आक्रामक रुपमा प्रस्तुत भइरहेको छ । लगातार नेता–कार्यकर्ता पक्राउ पर्ने क्रम जारी रहेको र पार्टीभित्रै वार्ताको लागि दबाब बढ्दै गएपछि विप्लव नेकपाले वार्तामा सहभागी हुने संकेत देखाएका थिए ।
गत फागुन अन्तिम साता सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि उसले खुला रुपमा आफ्ना गतिविधि गर्न पाएको छैन । विभिन्न स्थानमा बम विस्फोट गर्ने, चन्दा आतंक मच्चाउनेलगायत गैरकानुनी गतिविधिमा सक्रिय विप्लव समूह नेता–कार्यकर्ता पक्राउ पर्ने क्रम बढेपछि कमजोर हुँदै गएको सुरक्षा विश्लेषण छ ।
एकीकृत जनक्रान्तिको नारासहित अगाडि बढेको समूहले सैन्य दस्ता नै तयार पारेर आफ्ना गतिविधि अगाडि बढाएको सरकारको दाबी छ । यद्यपि, विप्लव समूह निःसर्त वार्तामा आए सरकार संवादका लागि तयार रहेको मन्त्रीहरुले बताउँदै आएका छन् । औपचारिक रुपमा वार्ताको पत्र भने विप्लव समूहलाई सरकारले दिएको छैन ।






