रामघाट महिला सहकारीमा नयाँ समिति

रामघाट महिला बचत तथा ऋण सहकारीको आठौं साधारणसभा तथा चौथो अधिवेशन बिहीबार भएको छ । अधिवेशनले यशोधादेवी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा प्रेमकुमारी गुरुङ, सचिव मीना ढुंगाना, कोषाध्यक्ष सीताकुमारी तिमिल्सिना, सञ्चालक समिति सदस्य चांँदनी हमाल, सुमित्रा चौधरी, माधवा ज्ञवाली र विमला पाण्डे भट्टराई चुनिए । लेखा समिति संयोजकमा जानुका अधिकारी, सदस्यमा निलम दुबे छन् ।

साधारणसभामा राष्ट्रिय सहकारी संस्थाका सञ्चालक तथा गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालाले महिलाले सञ्चालन गरेका सहकारी उत्कृष्ट भएको बताइन् । उनले महिला अब राजनीतिक सशक्तीकरणपछि आर्थिक सशक्तीकरणतर्फ लाग्नुपर्नेमा जोड दिइन् ।

सहकारीका संरक्षक गजकुमारी गुरुङले महिला आर्थिक क्षेत्रमा सक्षम नभई अन्य क्षेत्रमा अगाडि बढ्न सम्भव नहुने बताइन् । उनले समग्र महिलाको उत्थानका लागि अझै पनि शिक्षा र स्वास्थ्य जोड दिनुपर्ने औंल्याइन् । उनले भनिन्, ‘हामी महिला सहकारीमा लागेपछि बचत गरेर बोनस पाइन्छ भन्नेमात्रै होइन, महिलाको आर्थिक गतिविधि चलायमान हुनपर्छ ।’

कार्यक्रममा संस्थाका सल्लाहकार गंगा कुँवर, सुनौलो सहकारी अध्यक्ष कलावती शर्मा, सनसाइन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष अग्नि कँडेल, नमुना सहकारी संस्थाका महेन्द्र गुरुङ, रामघाट महिला सहकारी संस्थाका अध्यक्ष सम्झना अधिकारी लगायतले बोलेका थिए ।