पोखराको बिरौटामा ‘फ्रेण्डस हस्पिटालिटी मेनेजमेन्ट एण्ड ल्याङवेज इन्टिच्युट’ सञ्चालनमा आएको छ । शुक्रबार इन्स्टिच्युटको पोखरा महानगरपालिका वडा नं। १७ का अध्यक्ष तीर्थराज अधिकारीले उद्घाटन गरे ।
अधिकारीले हस्पिटालिटी क्षेत्रमा धेरै रोजगारीका अवसर रहेकाले इन्स्टिच्युट समयको माग अनुसार सञ्चालनमा आएको बताए ।
होटल तथा पर्यटन क्षेत्रमा काम गरेका व्यक्तिहरुको संयुक्त लगानीमा इन्स्टिच्युट सञ्चालनमा आएको प्रवन्ध निर्देशक राजकुमार केसीले बताए । इन्स्टिच्युटमा केसीसहित पदम न्यौपाने, सुरेश पौडेल, कुश थापा, कमल गिरी र काशिराम महतोको लगानी छ ।
होटल, रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रको व्यवस्थापनमा आउन चाहने व्यक्तिहरुलाई लक्षित गर्दै तालिम प्रदायक संस्था सञ्चालनमा आएको केसीले बताए । कुकिङ, फ्रन्ट अफिस, वेटर, हाउस किपिङका साथै विविध भाषाका तालिमहरु इन्स्टिच्युटबाट प्रदान गरिनेछ ।
पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पोखरामा नयाँ होटल तथा रेष्टुरेन्टहरु थपिने क्रम बढिरहेकाले यस प्रकारको तालिम प्रदायक संस्थाहरु आवश्यक रहेको धारणा राखे । ‘सिप भएकाहरुका लागि पर्यटन क्षेत्रमा रोजगारीका प्रशस्त अवसर छन्,’ उनले भने ।
दक्ष एवं अनुभवी प्रशिक्षकद्वारा तालिम प्रदान गरिने सञ्चालक केसीले बताए ।






