बहुविवाह मुद्दामा अदालतबाट जेल सजाय पाएका प्रदेश २ का एक सांसदको बिषयमा अदालतले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ ।
नेकपाका सांसद दिलिपकुमार साहलाई बहुविवाह मुद्दामा धनुषा जिल्ला अदालतले एक बर्षको कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
२०७२ साल जेठ १३ गते नै धनुषा जिल्ला अदालतले साहबिरुद्व यो फैसला सुनाएको थियो ।
जिल्ला अदालतको यो फैसलाबिरुद्व साहले पुनरावेदन अदालतमा पुनरावेदन गर्दा पुनरावेदन (अहिलेको उच्च अदालत) ले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो ।
२०७६ साल असार २५ गते उच्च अदालतले सोही फैसलालाई सदर गरेपछि जिल्ला अदालतले यो जानकारी प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ ।
जिल्ला अदालतले हालै प्रदेशसभालाई फैसलाबारे जानकारी गराएको छ । सांसद साहकी जेठी पत्नी संगीता देवी यादवको जाहेरीले जिल्ला अदालतले साहबिरुद्व यस्तो फैसला गरेको हो ।
साह प्रदेशसभाको निर्वाचनमा सिरहाको क्षेत्र नम्बर १ को क बाट निर्वाचित भएका हुन् ।
साह तत्कालिन नेकपा माओवादीमा लागेको बखत २०५७ सालमा संगीतासँग अन्तरजातीय विवाह गरेका थिए । दिलिप र संगीताबाट दुई जना छोरा जन्मेका छन् । मन्त्री मातृका यादवका ज्वाइँ समेत हुन् ।
आफ्नो श्रीमती र दुई छोरा हुँदाहुँदै दिलिपले २०७० साल माघ १ गते धनुषाकै जानकीसँग अर्काे विवाह गरेपछि संगीताले जिल्ला अदालतमा बहुविवाह मुद्दा दर्ता गराएकी थिइन् ।
दिलिपकी जेठी पत्नी संगीता बर्तमान उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवकी छोरी हुन् । माओवादी सशस्त्र युद्धका बेला दुबैले विवाह गर्दा मातृकाले पनि समर्थन जनाएका थिए ।
उनलाई फैसला सुनाइएको पत्र प्रदेशसभा सचिवालयमा गएपछि यसबारेमा के गर्ने भनेर मुख्य न्यायाधिवक्ता कार्यालयसँग राय मागिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
किन गरिएन पक्राउ ?
न्याय प्रशासन ऐन २०७३ को दफा ९(ख) बमोजिम उच्च अदालतमा १० वर्ष वा सोभन्दा बढी कैद सजाय हुने गरी फैसला भएको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने प्रावधान छ । ३ वर्षभन्दा बढी कैद वा ५ लाख रुपैयाँभन्दा बढी वा २५ लाख रुपैयाँभन्दा बढी बिगोमा आंशिक ठहर गरे मात्र सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने प्रावधान छ । तसर्थ उच्च अदालतले गरेको फैसलाले माथिल्लो निकायमा पुनरावलोकन गर्न भन्दै म्याद समेत जारी गरेको छैन ।
‘त्यसकारण अब साहलाई पक्राउ गरेर फैसला कार्यान्वयन गर्नका लागि धनुषा जिल्ला अदालत नै जिम्मेवार निकाय छ, त्यही निकायले कैद असूलउपर गर्नुपर्ने हुन्छ,’ उच्च अदालत जनकपुरका एक कर्मचारीले भने ।
उच्च अदालतको फैसला दोहोर्याइँ पाउँ भनेर सर्वोच्चमा जान पनि सकिने तर त्यहाँ निवेदन दर्ता भएपनि निस्सा जारी नभएको अवस्थासम्म अदालतले उनलाई पक्राउ गरेर कैद असूल गर्न सक्ने प्रावधान छ ।
साहले गत भदौ ८ गते सर्वोच्च अदालतमा उच्च अदालतले गरेको फैसला दोहोर्याइँ पाउँ भन्दै निवेदन दर्ता गराएका छन् तर निस्सा भने जारी नगरिएको साहले लोकान्तरलाई बताए ।
जिल्ला अदालतले फैसला कार्यान्वयन गर्न लगत कसेर प्रदेश २ प्रदेश सभा सचिवालयलाई फैसलाको प्रतिलिपिसहित लिखित पत्रमार्फत नै जानकारी गराइसकेको छ । २०७६ भदौ ४ गते धनुषा जिल्ला अदालतका तहसिलदार भिष्म भट्टराईले प्रदेश सचिवालयलाई पत्रमार्फत जानकारी गराएका छन् ।

‘फैसला सन्दर्भमा हामीले संसद सचिवालयलाई जानकारी गराइसकेका छौं । अब सभामुखज्यूले उहाँको सांसद पद निलम्बन गर्नुपर्ने हुन्छ,’ तहसिलदार भट्टराईले भने, ‘जाहेरवाली संगीतादेवी यादवले नै मेरो फाँटमा २ पटक आएर प्रदेश सचिवालयलाई फैसला पठाउन अनुरोध गरेपछि पठाइएको हो ।’ उनलाई पक्राउ गर्न फैसला कार्यान्वयन गर्न गठित विशेष टोली परिचालित भएको उनले बताए । ‘साहलाई मात्रै पक्राउ गर्न भनेर टोली त खटिएको छैन, पहिलेदेखि नै सुरक्षाकर्मी तथा अदालतका कार्यालय सहयोगी विनोद दुबे सहितको विशेष अभियान टोलीले पक्राउ गर्ने तहसिलदार भट्टराईले बताए ।
सांसद पदबाट निलम्बन हुन्छ ?
साहलाई कैद तथा जरिवाना समेतको धनुषा जिल्ला अदालतको पत्राचार भएपछि प्रदेश सभा सचिवालयले सांसद साहको पद निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा मुख्य न्यायाधीवक्ता कार्यालयको राय समेत माग गरेको छ । प्रदेशसभा सचिवालयका कानून उपसचिव समेत रहेका सूचना अधिकारी अबध किशोर प्रसाद कुशवाहाले भने, ‘सभामुखज्यूले त्यतिकै निलम्बन गर्न मिल्दैन । प्रहरीले पक्राउ गरेपछि मात्र कैद अवधिसम्मको लागि सांसद पदबाट निलम्बन गर्ने हो । फेरि प्रहरीले प्रदेश सभाको परिसरबाट उहाँलाई पक्राउ गर्न मिल्दैन । पक्राउ गर्नुअघि सभामुखलाई भनेर पक्राउ गर्नुपर्ने हुन्छ ।’
प्रदेशसभा कार्यसञ्चालन नियमावलीको नियम २१० को उपनियम ४ मा त्यस सम्बन्धमा छुट्टै प्रावधान समेत बनाइएको छ । प्रावधान अनुसार पहिलो अवस्था कुनै प्रदेशसभा सदस्य उपर प्रचलित कानून बमोजिम ३ वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधि भर, दोस्रो अवस्था कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नुपर्ने अवधि भर र तेस्रो कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधि भर त्यस्तो सदस्यलाई सभामुखले निलम्बन गर्नुपर्ने हुन्छ ।
साह पछिल्लो प्रदेश सभाको हरेक बैठकमा उपस्थित हुँदै आएका छन् । प्रदेशसभा सचिवालयका सूचना अधिकारी कुशवाहाका अनुसार भदौ २२ गते, २१ गते, साउन २० गते र असार ३१ गतेको बैठकमा समेत उपस्थित भएका थिए । सांसद साह प्रदेश सभाको बैठकमा भाग लिन आउने गरेपनि प्रहरीले उनलाई पक्राउ गरेको छैन ।
के भन्छन् सांसद साह ?
‘अदालतले फैसला गरेपछि सम्मान गर्नुपर्ने हरेक नागरिकको कर्तव्य हो र मैले पनि मान्नैपर्ने हुन्छ,’ साहले भने, ‘तर अदालतले अन्याय गरेको छ ।’ सर्वोच्च अदालतमा फैसला दोहोर्याइँ पाउँ भन्दै निवेदन दर्ता गराएकाले निस्सा जारी नहुञ्जेलसम्म गिरफ्तारी नदिने उनले बताए ।
‘सिरहा जिल्ला अदालतबाट नै अंश मुद्दा अन्तर्गत मैले पाएको सम्पत्तिको ४ भागमध्ये १ भाग पत्नी र २ भाग २ छोराको लागि अंशबण्डा गरेर दिइसकेको छु,’ साहले भने, ‘त्यसका अतिरिक्त छोराहरूको पढाइलेखाइका लागि २० लाख रुपैयाँ नगद समेत दिएको छु ।’ अंश लिएर काठमाडौं र मिर्चैयाको छुट्टै घरमा बस्दै आएको अवस्थामा अदालतले अन्याय गरेको उनले प्रतिक्रिया दिए ।
मन्त्रीकी छोरीलाई धोका !
सांसद साह हालको नेकपा स्थायी कमिटी सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवका ज्वाइँ हुन् । २०५७ वैशाख २ गते मन्त्री यादवकी छोरी संगीता यादवसँग साहको अन्तरजातीय विवाह भएको थियो । त्यतिबेला मातृकासँगै साह पनि तत्कालीन माओवादी पार्टीमा आवद्ध भई भूमिगत राजनीति गरिरहेका थिए । सोही क्रममा साह र संगीताबीच प्रेम सम्बन्ध भएको थियो । दुवै जनाका अभिभावक समेतको उपस्थितिमा नै अन्तरजातीय विवाह भएको थियो ।
विवाहपछि दुवैका २ छोरा सन्तुलन कुमार साह र प्रतिक कुमार साह छन् । २ सन्तान हुँदाहुँदै पछि साहले धनुषाको शान्तिपुर–२ की जानकी कुमारी साहसँग २०७० माघ १ गते विवाह गरेको भन्दै संगीताले धनुषा जिल्ला अदालतमा साहविरुद्ध बहुविवाह कसूर अन्तर्गत कानून बमोजिम कारवाही गरी पाउँ भन्दै मुद्दा दर्ता गरेकी थिइन् ।
‘बिहे भएपनि, छोरा भएपनि घर परिवारका मानिसले पटक–पटक यातना दिने, दुःख दिने गरेकोमा समाजमा पञ्चायती हुँदा पनि स्वभावमा कुनै पनि परिवर्तन नआएको थियो,’ संगीताले दिएको मुद्दाको जाहेरीमा लेखिएको छ, ‘आफ्नो श्रीमानले जानीजानी दोस्रो विवाह गरेको कुरा थाहा पाएपछि किन यस्तो गरेकोभन्दा पतिले उल्टै ठाडो जवाफ दिई नानाथरिका गालीगलौज गरी घरबाट निकाला समेत दिएकाले माइतीमा आएर बसेको छु ।’ पत्नीको जाहेरीपछि धनुषा प्रहरीले साहलाई पक्राउ गरेको थियो ।






