एशिया कुस्ती संघका उपाध्यक्ष ब्रजभूषण शरण सिंहले नेपाली युवाले खेलकूदमा राम्रो प्रगति गर्न सक्ने बताएका छन् ।
नेपाल कुस्ती संघ र भारतीय कुस्ती संघले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले खेलाडी उत्पादन र पूर्वाधार विकासमा पर्याप्त ध्यान दिनुपर्नेमा जोड दिए ।
उनी भारतको लोकसभा सदस्य, भारतीय कुस्ती संघ एवं सार्क कुस्ती संघका अध्यक्ष समेत हुन् । भारतको कुस्ती विश्वमा उत्कृष्ट स्थानमा रहेको चर्चा गर्दै उनले नेपालले पनि त्यस्तै प्रकारको सफलता पाउन सक्ने बताए । विशेषगरी कुस्ती खेलका लागि शारीरिक रुपमा तन्दुरुस्त युवा आवश्यक पर्ने भन्दै उनले नेपालमा त्यसको सम्भावना धेरै रहेको स्पष्ट पारे ।
‘कुस्ती प्राकृतिक खेल हो । संसारमा कुनै न कुनै रुपमा कुस्ती हुँदै आएको छ’, उनले भने ‘नेपालका युवाको हात खुट्टा धेरै बलिया छन् । यसको फाइदा कुस्तीमा उठाउन सकिन्छ ।’
नेपाली युवामा मेहनत र परिश्रम गर्ने क्षमता रहेको उनले बताए । कुस्ती खेल साधारण र सामान्य परिवारका युवाहरुले खेल्न भन्दै थप प्रशिक्षणका लागि भारतले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
हरेक वर्ष नेपालबाट केही युवालाई कुस्ती खेलको प्रशिक्षणका लागि भारतमा सहयोग गरिँदै आइएको उनले जानकारी दिए ।
नेपाल कुस्ती संघका अध्यक्ष राज मोहम्मद अंसारीले नेपालमा आयोजना हुन लागेको दक्षिण एशियाली खेलकूद प्रतियोगिताका बारेमा प्रकाश पारेका थिए । प्रतियोगिताको तयारी तिव्र भइरहेको भन्दै उनले नेपालले त्यसको सफल आयोजना गर्ने पनि बताए ।
उनले विभिन्न स्थानमा प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको जानकारी दिए । प्रतियोगिताका केही खेलहरू पोखरामा हुने जानकारी दिंदै उनले कुस्ती खेल आयोजना स्थल पोखरा हुन सक्ने भन्दै त्यसको तयारी स्वरुप असोजको पहिलो हप्तामा नेपाल भारत वीच मैत्रीपूर्ण कुस्ती खेल गर्न तयारी लागिएको बताए ।
नेपाल कुस्ती संघको निमन्त्रणामा काठमाडौं र पोखराको भ्रमणमा आएका भारतीय कुस्ती संघका अध्यक्षसहितका पदाधिकारीले मैत्रीपूर्ण प्रतियोगिताले अनुभव आदन–प्रदान गर्न सहयोगी हुने विश्वास व्यक्त गरे ।
भारतीय भ्रमण दलमा संघका सहायक सचिव विनोद तोमर, भारतीय किसान मोर्चाका राष्ट्रिय कार्यकारिणी सदस्य तथा भारतीय जनता पार्टीका कार्यकारिणी सदस्य अमीय भूषण, नेपाल-भारत मैत्री संघका अध्यक्ष राजकुमार सिंधी, भारतका युवा व्यवसायी समाजसेवी कुन्दन सिह सहभागी थिए ।
पोखरामा कार्यक्रमको व्यवस्थापन साम्बो र आइटिएफका राष्ट्रिय खेलाडी सुदिप आचार्यले गरेका थिए । सो टोलीले युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्मा, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन तथा खेल पदाधिकारीलाई भेटेको थियो । टोलीले पोखरा रंगशालाको समेत अवलोकन गरेको थियो ।




