तरुण दलभित्र दुई जंगेको लडाइँ, ज्यान मार्नेसम्मको धम्की !

नेपाली कांग्रेसभित्रको गुटगत झगडा भ्रातृ संगठन नेपाल तरुण दलमा चर्को रुपले उठेको छ । संगठनभित्र २ जंगेबीचको लडाइँले उग्ररुप लिएको छ ।

संगठनसम्बन्धी निर्णय र भ्रष्टाचारका मुद्दालाई आन्दोलनको विषय बनाउने कि नबनाउने भन्नेमा अध्यक्ष जितजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाही वक्तव्यबाजीमा उत्रिएका हुन् ।

सो विषयलाई लिएर आफूमाथि अध्यक्ष बस्नेतले ज्यान मार्ने धम्र्कीसमेत दिएको महासचिव शाहीको आरोप छ । तर अध्यक्ष बस्नेतले भने महासचिवलाई फोन नै नगरेको बताए ।

उनले भने, ‘मैले कसैलाई फोन गरेको छैन । म विरुद्ध ‘स्टनबाजी’ भइरहेको छ । यो ‘स्टनबाजी’ को २/३ दिनभित्र पर्दाफास गर्छु ।’ तर महासचिव शाहीले भने विभिन्न मान्छे लागएर अध्यक्ष बस्नेतले आफूलाई ज्याज मार्ने धम्र्की दिएको बताए ।

४ जना पदाधिकारीमा सीमित तरुण दलमा अध्यक्ष र महासचिवबीच यो स्तरको चर्काचर्कीले विवादको चरम रूप लिएको छ । जसमा आर्थिक अनियमितताको विषय पनि जोडिएको छ । विदेशमा रहेका कांग्रेस निकट जनसम्पर्क समितिबाट बाढीपीडितका नाममा उठेको सहयोग रकम अध्यक्ष र कोषाध्यक्षको मिलेमतोमा हिनामिना भएको आरोप छ ।

अध्यक्ष बस्नेतले केही जिल्लामा राहत वितरण गरिएको र केही पैसा तरुण दलको खातामा रहेको प्रतिक्रिया दिए । उनले भने, ‘राहतको नाममा विदेशमा रहेको जनसम्पर्क समितिका साथीहरूले सहयोग गरेका थिए ।

जसमा १३ लाख ५४ हजार रुपैयाँ संकलन भएको थियो । यसको सबै डाटा छ । कसै अपचलन भएको छैन । मबाट यस्तो काम हुँदैन पनि ।’ केही दिनभित्र सबै कुरा पारदर्शी ढंगले बाहिर ल्याउने अध्यक्ष बस्नेतले बताए ।

यद्यपि तरुण दल स्रोतका अनुसार ७५ लाख रुपयाँ संकलन भएको थियो । तर अध्यक्ष बस्नेतले भने १३ लाख मात्र संकलन भएको दाबी गरे ।