ओलम्पिक कमिटीको निर्वाचन शनिबार

नेपाल ओलम्पिक कमिटी एनओसीको निर्वाचन आगामी शनिबारका लागि तय भएको छ । यसअघि सर्वोच्चको अन्तरिम आदेशका कारण भदौ २० गते स्थगित निर्वाचन शनिबार गर्ने तय भएको हो ।

एनओसी सदस्य कलमबहादुर चित्रकारले अवैधानिक कमिटीले निर्वाचन गर्न लागेको भन्दै सर्वोच्चमा रिट हालेपछि निर्वाचन रोकिएको थियो ।

पछि अदालतले सबै पक्षसँग छलफल गर्दै अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला गरेपछि एनओसीलाई निर्वाचनको बाटो खुलेको थियो ।

वर्तमान अध्यक्ष जिवनराम श्रेष्ठले आईओसीको सल्लाहअनुसार नयाँ मिति तय भएको बताए । उनका अनुसार रोकिएको निर्वाचन प्रक्रिया पुरानै अबस्थाबाट सुरु हुनेछ ।

नयाँ नेतृत्वका लागि श्रेष्ठसहित पूर्वउपाध्याक्ष उमेशलाल श्रेष्ठ चुनाबी मैदानमा छन् ।