ताजा समाचार

भाद्र २५ गते २०७६

तपाइँले सेक्स कहिले गर्नुभयो ? फेसबुकले थाहा पाउँछ

तपाइँले अन्तिम पटक कहिले यौन सम्पर्क गर्नुभयो ? यो कुरा फेसबुकलाई थाहा हुन्छ । यतिमात्र होइन महिलाहरुको महिनावारी चक्र तथा उनीहरुले प्रयोग गरेका गर्भनिरोधक साधनहरुको बारेमा पनि फेसबुकले थाहा पाउँछ ।

प्राइभेसी इन्टरनेसनलको एक रिपोर्ट अनुसार महिलाले प्रयोग गर्ने पिरियड ट्रयाकर एपले उनीहरुको स्वास्थ्यसम्बन्धी विभिन्न नितान्त व्यक्तिगत जानकारीहरु राख्दछ र त्यसलाई तेश्रो पक्षलाई समेत प्रदान गर्दछ ।

त्यस्ता तेश्रो पक्ष अर्थात् थर्ड पार्टी सर्भिसहरुमा विश्वको सबैभन्दा लोकप्रिय सोसल नेटवर्किङ्ग साइट फेसबुक समेत रहेको छ ।

प्रयोगकर्ताको मूड थाहा पाउने एप

बजफिडका अनुसार माया एपले कथित रुपमा प्रयोगकर्ताले उसको गोपनीयता नीति स्वीकार गर्नुअघि नै प्रयोगकर्ताको विवरण फेसबुकसँग शेयर गर्दछ ।

केही फिचर्सको सहायताले उक्त एपले प्रयोगकर्ताको मुडसमेत पहिचान गरी फेसबुकलाई जानकारी दिन्छ ता कि फेसबुकले प्रयोगकर्ताको मुडको हिसाबले विज्ञापन देखाउन सकोस् ।

यसले प्रयोगकर्तासम्म लक्षित विज्ञापन पर्‍याउन कम्पनीहरुलाई सजिलो हुन्छ । शोधकर्ताहरुका अनुसार यसबाट कम्पनीहरुलाई निकै फाइदा हुन्छ किनकि जो महिलाहरु गर्भवती छन् वा हुनेवाला छन् उनीहरुको शपिङ गर्ने तरिकामा निकै परिवर्तन आउने सम्भावना हुन्छ ।

रजश्वला तथा गर्भलाई ट्रयाकिङ्ग गर्ने एपका बारेमा खुलासा भएसँगै कैयन् महिलाहरुले यो एपको प्रयोग बन्द गरेका छन् । आफ्ना व्यक्तिगत स्वास्थ्य सम्बन्धी डाटाहरुलाई यी एपले आफ्ना रोजगारदाता तथा विमा कम्पनीहरुसँग पनि शेयर गर्नसक्ने उनीहरुको आशंका छ ।

विभिन्न उत्पादक कम्पनीहरुले विज्ञापनका लागि यस्ता डाटाको गलत फाइदा उठाउन सक्दछन् भने विमा कम्पनीहरुले प्रिमियम बढाउन सक्दछन्। यस्तो खतराबाट बच्नका लागि केही महिलाहरुले अनौठो उपाय अपनाइरहेका छन् । उनीहरुले यो एपको प्रयोग त गरिरहेका छन् तर त्यसमा आफ्नो गलत विवरण भरिरहेका छन् ।

फेसबुकले अनुसन्धान गर्ने

एपहरुमार्फत महिलाका गोप्य जानकारीहरु फेसबुकमा शेयर हुने खुलासा भएसँगै यो विषयलाई फेसबुकले गम्भीर रुपमा लिएको छ । उसले यसबारेमा प्राइभेसी इन्टरनेसनल सँग सम्पर्क गरेको बताएको छ । सफ्टवेयर डेभलपमेन्ट किटको माध्यमबाट डाटा शेयर गर्ने एप्सको पहिचान गर्ने प्रयास भैरहेको फेसबुकले जनाएको छ ।

फेसबुक प्रवक्ताले भनेका छन्, ‘हामीसँग यस्तो प्रणाली छ जसबाट हामीले यी डाटाको पहिचान गरी त्यसलाई डिलिट गर्न सक्दछौँ । आगामी दिनमा यस्तो घटना नहोस् भनेर यसका लागि हामीले आफ्नो सिस्टममा आवश्यक परिवर्तन पनि गरिरहेका छौँ ।’