ताजा समाचार

भाद्र २५ गते २०७६

निर्माण व्यवसायी अपहरण गर्ने ४ जना पक्राउ

पोखराका १ निर्माण व्यवसायी अपहरणमा संलग्न ४ जना पक्राउ परेका छन् । पोखरा–९ नयाँबजारस्थित शान्तिवन बाटिकाबाट उनीहरू पक्राउ परेका हुन् ।

कास्की प्ररहीका डिएसपी राजकुमार केसीको नेतृत्वमा खटिएको टोलीले ती ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउपर्नेमा पोखरा–१५ का ४२ वर्षीय गौतम थापा, पोखरा–२ अर्चलबोटका ३४ वर्षीय रोहित सुनार, पोखरा–८ का ५० वर्षीय वासुदेव पोखरेल र पोखरा–१० का प्रेमबहादुर थापा छन् ।

अपहरणमा पर्ने व्यवसायी पोखरा–६ का जीवन भनिने रत्नबहादुर कार्की हुन् । उनी उपचारका लागि अस्पताल भर्ना भएका छन् । उनको अवस्था सामान्य रहेको कास्की प्रहरीले जनाएको छ ।

उनी अपहरण पर्नुको कारण आर्थिक कारोबार रहेको बुझिएको छ । कार्कीले मिटर व्याजमा रकम लिएको र तिर्न नसकेको स्रोत बताउँछ ।

उनीहरूले निर्माण व्यवसायीलाई बुधबार बिहान करिब ११ बजे नयाँबजारको सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको कार्यालय अगाडिबाट जर्बजस्ती गाडीमा हालेको प्रहरीले जनाएको छ ।

जबर्जस्ती गाडीमा हालेर मोटरसाइकलको स्कटिङमा पोखरा महानगरपालिका–९, शान्तिवनमा छिरेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ र व्यवसायीलाई उद्दार गरेको डिएसपी राजकुमार केसीले नेपालदूतलाई जानकारी दिए ।

पक्राउपर्ने टोलीको नाइके गौतम थापा भएको प्रहरीको भनाई छ । थापा नेतृत्वको टोलीले मिटर ब्याजमा पैसा लगानी गर्ने गरेको प्रहरीले जनाएको छ ।

थापा नेतृत्वको टोलीले केही सामाजिक काम गर्ने, पैसा सहयोग गर्ने र त्यही कामको आधारमा चर्को मिटर ब्याज अशुल्ने गरेको प्रहरीले जनाएको छ । थापा नेतृत्वको टोलीले मिटर ब्याजका लागि अपहरण गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

यसअघि पनि अपहरण गरेर चर्को मिटर ब्याज अशुल्ने गरेको हुन सक्ने प्रहरीले जनाएको छ । ‘केही सामाजिक काम पनि गरे जस्तो गर्ने र त्यही कामको आधारमा चर्को मिटर ब्याज अशुल्ने काम गौतम थापा नेतृत्वको टिमले गर्दो रहेछ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले भने, ‘उहाँलाई पनि त्यसैको लागि अपहरण गरेको हुनसक्छ । थप अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका चारै जनालाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउने उनले सुनाए ।


Loading...