एएफसी यू-१६ छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । जोर्डनमा हुने छनोट प्रतियोगिताका लागि जाने नेपाली राष्ट्रिय यू–१६ टोलीको बिदाइ भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार नेपाली टोलीको बिदाइ गरेको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जोर्डन जाने २३ खेलाडीसहित अफिसियललाई बिदाइ गरेका थिए । 

सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन् । नेपालले प्रतियोगिताको पहिलो खेल भदौ २८ गते जोर्डनसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ  ।