ताजा समाचार

भाद्र २५ गते २०७६

नेकपाले दल दर्ता गर्ने

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले भदौ मसान्तभित्र दल दर्ताका लागि पौडेललाई जिम्मेवारी दिएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

‘दल दर्ता प्रयोजनका लागि महासचिवलाई जिम्मा दिनेबाहेक अरू कार्यसूचीमा प्रवेश भएन’, उनले भने ।

बुधबारको सचिवालय बैठक नियमित बस्ने ठाउँभन्दा फरक ठाउँमा बसेको थियो । तेस्रो वरीयताका नेता खनालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको र अर्को बैठकले पार्टी एकताका बाँकी काम टुंग्याउने जानकारी दिए । साढे ४ बजेबाट शुरू भएको बैठक करिब ४० मिनेट बसेको थियो ।

नेकपामा केन्द्रीय निकाय (जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्), आयोग (अनुशासन, निर्वाचन, लेखा), महानगर कमिटी र सामाजिक संगठन गठनको काम बाँकी छ ।