ताजा समाचार

भाद्र २५ गते २०७६

अब एक हजारमै डेङ्गुको जाँच

परीक्षणमा मनपरी शुल्क लिएका चितवन भरतपुरका केही निजी अस्पतालमा जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमन गरेको छ । छवटा निजी अस्पताल अनुगमन गरिएको हो । प्रशासनले अनुगमनका क्रममा अस्पतालमा प्रयोग भएको कीटको मूल्य र बिरामीसँग लिएको मूल्य दाँजेको थियो ।

जसमा अधिकांश अस्पतालले तीन सयआसपास मूल्यका कीट प्रयोग गरेको भए पनि बिरामीबाट १५ सय शुल्क लिने गरेको भेटिएपछि प्रशासनले कालोबजारीमा मुद्दा चलाउने चेतावनी दिएपछि निजी अस्पताल सञ्चालकहरु आफैँ प्रमुख जिल्ला अधिकारीलाई भेटी चितवनका नयाँ र पुरानो मेडिकल कलेजका साथै सबै निजी अस्पतालमा जम्मा एक हजार रूपैयाँमा डेङ्गु परीक्षण गर्ने निर्णय भएको छ । यसअघि अधिकतम २६ सयसम्म परीक्षण शुल्क लिने गरेका थिए ।

डेङ्गु संक्रमणले महामारीको रुप लिइरहेको अवस्थामा निजी अस्पतालले भने डेङ्गु कीट परीक्षणका नाममा मनपरी शुल्क लिएपछि गत हप्ता बिहीबार प्रशासनले बैठक नै बोलाएर लागत मूल्यमा जम्मा १० प्रतिशतमात्रै बढाएर लिन भनेका थिए । तर, लागत मूल्यलाई बेवास्ता गरी सबै निजी अस्पतालले १५ सयमा परीक्षण गराउने सहमति गरेका थिए ।

‘हामीले लागत मूल्यमा १० प्रतिशत बढाउने भनेका थियौँ’, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भने, ‘तर अस्पताल सञ्चालकले केको आधारमा हो कुन्नि, १५ सय निर्धारण गरेका रहेछन् ।’


Loading...