सर्वाेच्च अदालतको रिहा गर्न दोस्रो आदेशपछि पत्रकार ओम हमाल रिहा भएका छन् । गत भदौ ६ गते कास्की लेखनाथबाट हमालसँगै पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्की इन्चार्ज कृष्ण वाग्ले रुपेश भने फेरि गिरफ्तार भएका छन् ।
पत्रकार हमाल र रुपेशलाई सर्वोच्च अदालतले मंगलबार रिहा गर्न आदेश थिएको थियो । रुपेशलाई अदालतको गेटबाटै प्रहरी फेरि पक्रेको छ । गिरफ्तारपछि वाग्लेलाई कहाँ लगिएको छ भन्ने केही थाहा हुन सकेको छैन । वाग्लेको मुद्दा कास्की र स्याङ्जामा चलिरहेकाले उनलाई पोखरा नै ल्याउने अनुमान गरिएको छ । मंगलवारको बहसमा वाग्लेको तर्फबाट छ जना अधिवक्ताले वहस गरेका थिए ।
हमालकी श्रीमती मोनिका गुरुङले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले पत्रकार हमाललाई रिहा गर्न आदेश दिएका हुन् ।
‘ओम हमाललाई प्रवृत्त धारणा राखी अदालतको आदेशपश्चात जसरी पनि थुनामा राख्ने किसिमको बदनियतपूर्ण तबरबाट पक्राउ गरी बन्दी बनाएको देखिएको छ,’ आदेशमा भनिएको छ, ‘सरकार र सरकारी संयन्त्रले नै अदालतबाट भएको आदेश छल्ने, आदेश पालना गर्न अटेर गर्ने र अदालतबाट भएको आदेशको मर्यादा नराख्ने अवस्था देखिनु शोभनिय होइन ।’

यसअघि अदालतको आदेशबाट छुटेका हमाललाई छुट्न साथ पक्राउ गरिएकोमा पनि सर्वोच्चले आपत्ति जनाएको छ । रिहालगत्तै नेपाल बार एशोसियनको प्राङ्गणमा नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले पत्रकार हमाललाई सम्मान गरेका छन् । क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्षसमेत रहेका जैसीले पत्रकार हमाललाई सम्मान गर्दै पत्रकारहरुमाथि राज्य निरंकुश नबन्न र अनाहकमैं पत्रकारलाई पक्राउ गरेर दुख नदिन चेतावनी दिए ।
क्रान्तिकारी पत्रकार संगठनका सचिव र पोखराका पत्रकार राजेन्द्र अधिकारीले संगठनका तर्फबाट पत्रकार हमाललाई सम्मान गर्दै पत्रकारमाथिको ज्यादती तत्कालै रोक्न र आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन सरकारलाई आग्रह गरे ।






