ताजा समाचार

भाद्र २३ गते २०७६

एगा पोखराको १६औं साधारणसभा

एम्ब्रोइटरी एण्ड गार्मेन्ट एशोसिएशन (एगा) पोखराको १६ औं साधारणसभा तथा घरवास कार्यक्रम अन्नपूर्ण गाउँपालिका-४ स्थित भदौरे होमस्टेमा भएको छ ।

पर्यटकीय सम्भावनाको खोजी गर्दै एगाको टोली आइतबार कास्कीको भदौरे सामुदायिक होमस्टे पुगेको थियो । उक्त होमस्टेमै एगाले १६औं साधारणसभा आयोजना गरेको हो ।

साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले एगाले नेपाललाई विश्वस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले पोखरामा विदेशीको ओइरो लागेको तथ्यांक आइरहे पनि त्यो तथ्यांक गलत हुन सक्ने आशंका गरे ।

सांसद पहारीले लेकसाइडका विदेशी व्यापारीका कारण नेपाली व्यापारीको व्यवसाय धराशाही भएको भन्दै त्यस्ता व्यापारीको भिषा अनुगमन गर्न आवश्यक रहेको बताए ।

‘ती व्यापारी इलिगल रुपमा बसेका छन् भने तिनलाई नेपालबाट लेखट्नुपर्छ’, उनले भने । साथै सांसद पहारीले राज्यले कर लगाउँदा जनताले तिर्न सक्ने गरी मात्र लगाउनुपर्नेमा जोड दिए ।

अर्को प्रसंगमा उनले रत्नमन्दिर र हिमागृहका सेनालाई निकालेर पार्क नबनाएसम्म लेकसाइको विकास र प्रवर्द्धन हुन नसक्ने स्पष्ट पारे ।

‘देशमा गणतन्त्र आइसक्यो, नारायणहिटी दरबार धेरै पहिला खुला भइसक्यो । तर हिमागृह र रत्नमन्दिरलाई अझै गणतन्त्र आएको छैन । त्यो जनताको सम्पत्ति हो । त्यसलाई खुला गरी पार्क बनाउन सकिए पर्यटन भुल्ने ठाउँ बन्छ’, उनले भने ।

सांसद पहारीले फेवाताल ताल नभएर पोखरी भएको टिप्पणी गर्दै तालको वृद्धि विकास र संरक्षणमा आफूले पूरै शक्ति लगाएको स्पष्ट पारे । ‘विमानस्थलको काम थाल्न ४० वर्ष लाग्यो, अब हेरौं फेवातालको विकास गर्न कतिवर्ष लाग्छ’, उनले भने ।

फेवातालमा पानीजहाज होइन पहिला संरक्षण आवश्यक रहेको उनले स्पष्ट पारे । उनले रत्नमन्दिर छेउको पानी जम्ने समस्या समाधानमा आफूले १ हप्ताभित्रै पहल गर्ने प्रतिवद्धता जनाए ।

नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले पर्यटनलाई पर्यटनको संस्थाको रुपमा मात्र नबुझ्न आग्रह गर्दै आफूले उत्पादन र विक्री गर्ने भएकाले उद्योगको रुपमा पनि बुझ्न आग्रह गरे ।

उनले उद्योगी तथा व्यवसायीको प्रत्येक समस्यामा उद्योग वाणिज्य संघले साथ दिने प्रतिवद्धता जनाए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले सबै मिलेर नेपाल भ्रमण वर्ष सफल बनाउनुपर्ने खाँचो औंल्याए ।

पोखरा पर्यटन पूर्व अध्यक्ष सूर्यबहादुर भुजेलले टेसा र एगालाई मिलाएर एउटै संस्था बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा बहादुरे मावि भदौरेका प्रधानाध्यापक रामप्रसाद पौडेल, भदौरे पञ्चासे सामुदायिक होमस्टेका रुपेश गुरुङ, बैदाम सामुदायिक सेवा केन्द्रकी अध्यक्ष मीना भट्टराई, लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष शंकर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विश्वराज पोखरेल, सचिव ईन्द्रप्रसाद भण्डारी लगायतले बोलेका थिए ।

कार्यक्रममा सचिव भण्डारी र कोषाध्यक्ष गोकर्ण लम्सालले पेश गरेको प्रतिवेदन पारित, संस्थाको विभिन्न कार्यक्रममा संयोजक बनेकाहरूलाई सम्मान र नयाँ सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।


Loading...