ताजा समाचार

भाद्र २३ गते २०७६

भीक्षा मागेर देश चल्दैन, आफ्नै खुट्टामा उभिएर बनाउनुपर्छ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले भिक्षा मागेर देश नचल्ने बताएका छन् । भीमाद नगरपालिका २ जौपानीस्थित मान्द्रे ढुंगा लिफ्टिङ खानेपानी आयोजना सोमबार उद्घाटन गर्दै उनले पञ्चायतकालमा जस्तो अबको सरकारले ऋण नलिने बताए । ‘छिमेकी राष्ट्र गुहारेर भीक्षा मागेर नेपाल बनाउन सकिँदैन,’ उनले भने, ‘हिजो पञ्चायतकालमा जे भयो, वर्तमान सरकाले त्यसो गर्दैन ।’

उनले अब आफ्नै खुट्टामा उभिएर देश बनाउने बाचा गरे । मन्त्री गुरुङले अरुसँग मागेर देश कहिलै धनी नहुने बताउँदै आफ्नै पुँजी उपयोग गरी समृद्धिको यात्रामा लाग्नुपर्नेमा जोड दिए । मन्त्री गुरुङले समृद्ध नेपाल निर्माणको प्रमुख आधार निजी लगानी रहेको प्रष्ट पारे । निजी, सहकारी र सरकारको लगानीले गण्डकी प्रदेशलाई पहिलो नम्बरको प्रदेश बनाउने उनले उद्घोष गरे ।

विकास निर्माण, संविधान कार्यान्वयन, नीति निर्माण, वैज्ञानिक योजना, सुशासन आदिले अरु प्रदेशको तुलनामा गण्डकी अघि रहेको उनको भनाइ छ । उनले प्रदेशका ८५ वटै तहमा आवश्यक विकास निर्माण स्थानीय तहसँग समन्वयगरी क्रमैसँग गर्दै जाने बताए । ‘एकैपटक सबै ठाउँको समस्या समाधान नहुन सक्छ । क्रमैसँग गर्नेछौं,’ उनले थपे, ‘५ वर्षे कार्यकालभित्र हामीले वाचा गरेको समृद्ध नेपाल बनाई छाड्छौं ।’

भीमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले खानेपानीसँगै उत्पादनमूलक क्षेत्रमा लाग्नस्थानीयलाई आग्रह गरे । खानेपानी आयोजनामा गण्डकी प्रदेश सरकारको ५० लाख र भीमाद नगरपालिकाको ४० लाख खर्चेको छ । १ सय ७४ मिटर तल रहेको मुलपानीबाट पानी गाउँमा ल्याइएको हो । नवनिर्मित खानेपानी आयोजनाबाट ४८ घरपरिवार लाभान्वित बनेका छन् ।


Loading...