लेकसाइडका अवैधानिक विदेशी व्यापारीलाई एकसाता भित्रै कानूनको दायरामा ल्याउनुपर्छ : सांसद पहारी

- हिमागृह र रत्नमन्दिरका सेना हटाएर पार्क बनाउनुपर्नेमा जोड

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पोखराको लेकसाइडमा अवैधानिक तवरले बसेर व्यवसाय गरेका विदेशी व्यापारीलाई लखेटुनुपर्नेमा जोड दिएका छन् ।

उनले नेपालमा अवैधानिक तवरले बसेर लेकसाइडमा व्यापार गर्ने व्यापारी नलखटेसम्म नेपाली व्यवसायको प्रदर्द्धन हुन नसक्ने स्पष्ट पारे ।

उनले भने, ‘पर्यटन बोर्डको पहलमा लेकसाइडमा रहेका विदेशी व्यापारीको भिषा जाँच गर्नुपर्ने र अवैधानिक भेटिए १ साताभित्रै लखेट्नुपर्छ ।’

कास्कीको भदौरेस्थित भदौरे पञ्चासे होमस्टेमा आयोजित एक कार्यक्रममा सांसद पहारीले यसको अगुवाई पर्यटन बोर्डले नगरे आफूले नै थालनी स्पष्ट पारे ।

उनले रत्नमन्दिर र हिमागृहका सेनालाई निकालेर पार्क नबनाएसम्म लेकसाइको विकास र प्रवर्द्धन हुन नसक्ने स्पष्ट पारे ।

‘देशमा गणतन्त्र आइसक्यो, नारायणहिटी दरबार धेरै पहिला खुला भइसक्यो । तर हिमागृह र रत्नमन्दिरलाई अझै गणतन्त्र आएको छैन । त्यो जनताको सम्पत्ति हो । त्यसलाई खुला गरी पार्क बनाउन सकिए पर्यटन भुल्ने ठाउँ बन्छ’, उनले भने ।

एम्ब्रोइटरी एण्ड मार्गेन्ट एशोसिएशन (एगा) पोखराको १६औं साधारणसभामा सांसद पहारीले एगाले नेपाललाई विश्वस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रम संस्थाका अध्यक्ष शंकर भट्टराईको अध्यक्षतामा भएको थियो ।