गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपाका कार्यकर्ता चिनीपानीझैं घोलिनुपर्ने बताएका छन् । नेकपाका गण्डकी प्रदेश इन्चार्जसमेत रहेका गुरुङले तत्कालीन एमाले र माओवादीबीच अझै घुलमिल हुन बाँकी रहेको भन्दै त्यस्तो बताएका हुन् ।
‘झापा आन्दोलनको कुरा गर्दा एकथरी एकातिर फर्कने, माओवादी जनयुद्धका कुरा गर्दा अर्कोथरी अर्कातिर फर्कने नमिल्ने जस्तो देखियो’, उनले भने, ‘पार्टी एकता भइसकेपछि यस्तो हुन ुहुँदैन, चिनीपानीझैं घोलिनुपर्छ ।’
माओवादी जनयुद्धका क्रममा सहिद भएका सुरेश वाग्ले वासु तथा भीमसेन पोखरेल वैरागीको सम्मानमा आयोजित स्मृति सभामा मुख्यमन्त्री गुरुङले हिजो एमाले र माओवादी अलग अलग ठाउँमा रहेर लडे पनि उद्देश्य नयाँ जनवादी क्रान्ति गर्नु रहेकाले एउटै शक्तिशाली कम्युनिस्ट पार्टी बनाउन पार्टी एकता गरेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम छिटो सक्नुपर्ने धारणा राखे ।
‘अहिलेको सफलता एउटा खुड्किलोमात्र हो, हामी अब समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्नु छ ।’
सत्य निरुपण तथा बेपत्ता आयोग र बेपत्ता छानबिन आयोग चाँडै गठन गरेर शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार र पार्टीको ध्यान जानुपर्नेमा जोड दिए । गण्डकी प्रदेशमा विभिन्न चरणमा सहिद भएका परिवारको अवस्था र बेपत्ता परिवारको अवस्था खोजबिन गरेर यथार्थ सार्वजनिक गर्ने उद्घोष गर्दै उनले सहिद र बेपत्ताका आश्रितलाई सघाउन शिक्षा र जीविकोपार्जनका लागि योजना बनाउनुपर्नेमा जोड दिए ।
अर्ध औपनिवेशिक र सामन्ती राज्यसत्ताका विरुद्ध संघर्ष गर्न पार्टी बनाएको स्मरण गर्दै उनले अहिले पुँजीवादी चरणमा देश प्रवेश गरेको टिप्पणी गरे । ‘अहिलेको सफलता एउटा खुड्किलोमात्र हो,’ उनले भने, ‘हामी अब समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्नु छ ।’
नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य सोमनाथ प्यासी, नेकपाका केन्द्रीय राजकाजी गुरुङ करण, सहिद परिवार दुर्गा पहारी, बेपत्ता परिवार तेजकुमारी पौडेल लगायतले बोलेका थिए ।
१५१ युनिट रगत संकलन
वासु र वैरागीको स्मृतिमा सोमबार भएको रक्तदानमा १ सय ५१ युनिट रगत संकलन भएको छ । वाग्ले र वैरागीको २० औं स्मृति दिवसको अवसरमा राष्ट्रिय युवा संघ कास्कीले रक्तदान आयोजन ागरेको हो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले वर्तमान सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई कार्यान्वयन गरी छाड्ने प्रतिवद्धता गरे । उनले साबिक वाइसियल केन्द्रीय सचिव एवं राष्ट्रिय युवा संघका नेता विनय थापालाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरेका थिए ।
जनयुद्ध तथा जनआन्दोलनका शहीदले देखाएको बाटोमा पार्टी अहिले हिँडिरहेको बताउँदै पाण्डेले शहीदका सपना जुनसुकै हालतमा पूरा गरिने स्पष्ट पारे । पार्टीका कास्की इन्चार्ज राजकाजी गुरुङ करणले निर्वाचनका बेला सार्वजनिक गरेको घोषणापत्र र जनतामा गरेको प्रतिवद्धता ५ वर्ष भित्रमा पूरा गरिने उल्लेख गरे ।

कार्यक्रममा युवा संघका नेताहङ विष्णु पुन, भोजराज पौडेल लगायतले संघलाई समग्र युवाको नेतृत्व गर्ने गरी अघि बढाउने प्रतिवद्धता गरे ।






