ताजा समाचार

भाद्र २३ गते २०७६

महिलाले सिके प्रांगारिक मल एवं जैविक विषादी बनाउने सीप

पोखरा १७ महतागौडा, सीतापाइला, लामातरा क्षेत्रका महिललाई प्रांगारिक मल एवं जैविक विषादी बनाउने तरिका सिकाइएको छ । सेवा नेपालले आइतबार आयोजना गरेको तालिममा करिब ४० जना सहभागी थिए ।

तालिमका सहभागीलाई प्रशिक्षक श्रीराम घिमिरेले कम्पोस्ट मल र गड्यौला मल बनाउने तरिका, जैविका विषादी बनाउने तरिका, पानीमा खेती, च्याउ खेती, झोल बनाउने तरिका लगायतबारे जानकारी दिएका थिए । कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले फोहोर व्यवस्थापनसहित मल उत्पादन हुने हुँदा यसबाट दोहोरो फाइदा हुने बताए । उनले पोखरामा फोहोर व्यवस्थापन चुनौति बनेको जनाउँदै यस खालका कार्यक्रमले फोहोर व्यवस्थापनमा सघाउने बताए ।

अधिकारीले निर्वाचनपछि विकासका विभिन्न गतिविधि भइरहेको जनाउँदै ५ वर्ष हेरेर मूल्यांकन गर्न र केही कमजोरी भए बीच बीचमा पनि सुझाव दिन आग्रह गरे । उनले भने, ‘यो आर्थिक वर्षमा पोखरा १७ मा ३ सरकारबाट करिब सबा अर्ब बजेट छ । यो स्रोत, साधन उपयोग गरी समृद्धिको दिशामा जाऔं ।’ उनले जनप्रतिनिधिहरु पनि सबै कुराका विज्ञ नभएको उल्लेख गर्दै सिक्ने, सिकाउने प्रक्रिया सधै हुने जनाए ।

पोखरा १७ का वडा सदस्य वैकुण्ठ भण्डारीले तालिममा सिकेको सीप व्यवहारमा लागु गर्न आग्रह गरे । कार्यक्रममा ढुंगेसाँघु सीतापाइला आमा समूहका अध्यक्ष जुना गुरुङ, पूर्व सचिव जुना मल्ल र सेवा नेपालका सदस्य केशवराज लम्सालले पनि बोलेका थिए ।