युरो कप छनोट फुटबलमा पोर्चुगलले सर्वियामाथि फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पोर्चुगल ४–२ गोल अन्तरले विजयी भयो ।

पहिलो जित निकालेको पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण गोल गरे । पोर्चुगलका लागि ४२ औं मिनेटमा विलियम कार्वाल्हो, ५८ औं मिनेटमा गोनकलो गेदेस, ८० औं मिनेटमा रोनाल्डो र खेल सकिन चार मिनेट बाँकी छँदा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए ।


यसअघि ६८ औंं मिनेटमा मिलिनकोभिक र ८५ औं मिनेटमा मित्रोभिकले सर्वियाका लागि गोल गरेका थिए ।
समूह बीको दोस्रो स्थानको पोर्चुगलले तीन खेलबाट ५ अंक जोडेको छ । सर्विया भने ४ खेलबाट ४ अंक सहित तालिकाको चौथो स्थानमा छ । समूहको शीर्ष स्थानको युक्रेनले ५ खेलबाट १३ अंक जोडेको छ । शनिबार रातिकै खेलमा युक्रेनले लिथुआनियालाई ३-० गोल अन्तरले हरायो ।




