ताजा समाचार

भाद्र २१ गते २०७६

पुष्पकमल स्मृति प्रतिष्ठानमा पूर्ण, संचेतना ५ को चर्चा

पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठानको सातौं साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार भएको छ । अधिवेशनले पूर्ण गिरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चुनेको छ ।

प्रतिष्ठानको उपाध्यक्षमा दामोदर न्यौपाने, सचिवमा ध्रुवकल्पित सुवेदी, कोषाध्यक्षमा इन्दु रेग्मी र सहसचिवमा प्रदीप सुवेदी चुनिएका छन् । सदस्यमा रामचन्द्र गौतम, हरिप्रसाद अधिकारी, सञ्जिता अधिकारी, तीर्थ पौडेल, माधवप्रसाद सापकोटा, डीलाराम लामिछाने, सूर्यनाथ भण्डारी र सरस्वती अधिकारी छन् ।

कार्यक्रममा पूर्व मन्त्री त्रिलोचन ढकालले संविधानतः समाजवाद उन्मुख व्यवस्था गरिनु कम्युनिस्टहरुका लागि स्वागत योग्य भएको बताए । ‘नेपालमा समाजवाद लागु गर्न नेतृत्वको आचरण पनि समाजवादी हुनु आवश्यक छ,’ उनले भने, ‘समाजवादमा जान प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल स्वयं पहिला समाजवादी बन्नु जरुरी छ ।’ उनले समाजवाद लागु नभए नेपालले सोभियत संघको हालत व्यहोर्नुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समितिका सदस्य सोमनाथ प्यासीले नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा पुष्पकमल सुवेदी सही विचार अगाल्ने व्यवहारिक नेता भएको बताए । उनले कम्युनिस्ट पार्टीको धरातललाई बलियो बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहाकार तथा पूर्व सांसद कृष्णप्रसाद भट्टराई, रुपा गाउँपलिका अध्यक्ष नवराज ओझा, पुष्पकमल सुवेदीका सहकर्मी शेषमणि आचार्य, प्रतिष्ठानका अध्यक्ष शुक्रराज सापकोटा, उपाध्यक्ष पूर्ण गिरी, सचिव ठाकुरप्रसाद सुवेदी लगायतले बोलेका थिए ।

कार्यक्रममा प्रतिष्ठानको मुखपत्र संचेतनाको पाँचौ अंकको चर्चा परिचर्चा पनि भएको छ । पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख गेहेन्द्रेश्वर कोइरालाले संचेतना माक्र्सवादी दर्शन, समकालीन परिवेश र देशको अवस्थाको सटिक चिरफार भएको बताए । लेखक रामराज रेग्मी प्रधान सम्पादक रहेको संचेतनामा इतिहास, राजनीति, दर्शन, धर्म, संस्कृति, संस्मरण, साहित्यका विविध विधाका रचनासहित प्रतिष्ठानका गतिविधि समेटिएका छन् ।


Loading...