ताजा समाचार

भाद्र २१ गते २०७६

सामाजिक सेवामा युनाइटेडको २० लाख

युनाइटेड क्लबले आर्थिक वर्ष ०७५÷०७६ मा २० लाख रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरेको छ । क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनसँगै चिडियाखाना निर्माण र सेतीनदी संरक्षणमा काम गर्दै आएको छ ।

पोखरा अमरसिंह चौरमा पोखरा महोत्सवको नियमित आयोजना गरेको क्लबले सामाजिक काममा पूर्ण सक्रियता देखाएको छ । क्लबले चालु आर्थिक वर्षमा पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कलाई ९ लाख प्रदान गरेको छ । शिक्षामा २ लाख, सेती नदी संरक्षण गर्न १० हजार, खेलकुदमा ४ लाख ५० हजार, स्वास्थ्यमा २ लाख, विपद व्यवस्थापन गर्न १ लाख ३९ हजार र विभिन्न संघ संस्थालाई १ लाख १० हजार रुपैयाँ सहयोग गरेको हो ।

क्लबको दशौं वार्षिक साधारणसभामा कोषाध्यक्ष गणेश तिमिल्सिनाले पेस गरेको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । तिमिल्सिनाले २० लाख १९ हजार रुपैयाँ वितरण भएको बताए । सभामा प्रदेश सभा सदस्य दीपक कोइरालाले युनाइटेड क्लब अन्य क्लवभन्दा अग्रणी भूमिकामा रहँदै आएको बताए ।

उनले सामाजिक कामको महत्व बुझ्न सके सभ्य समाज निर्माण हुने धारणा राखे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्की, पोखरा १२ का अध्यक्ष रामबहादुर कार्की, सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा, सल्लाहकार फत्तेबहादुर गुरुङ लगायतले बोलेका थिए ।

क्लब अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष शुकबहादुर गुरुङ, प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, महासचिव शान्तबहादुर थापा लगायतले सहजीकरण गरेका थिए ।


Loading...