ताजा समाचार

भाद्र २० गते २०७६

थपलियाको ‘प्रणयपथ’ र डा. दुलालको ‘काले दमाई’ सार्वजनिक

इलाममा शुक्रबार एउटै मञ्चबाट २ लेखकका २ कृति सार्वजनिक भएका छन् । चेतना नाट्य समूहको आयोजनामा भएको कार्यक्रममा साहित्यकार डा. देवी क्षेत्री दुलालको नाटक ‘काले दमाई’ र कवि बालिका थपलियाको कविता संग्रह ‘प्रणयपथ’ सार्वजनिक भएका हुन् ।

दुवै कृति साहित्यकार प्राडा गोविन्दराज भट्टराईले विमोचन गरे । डा. भट्टराईले निमुखा, सीमान्तकृत र दुखीको अवस्था अध्ययन गरेर अबको नेपाली साहित्यलाई अघि बढाउनुपर्ने बताउ । नेपाली साहित्यमा यस प्रकारको अध्ययन र लेखन भर्खरै आरम्भ भएको उनको ठम्याइ छ ।

नाटक ‘काले दमाई’ डा. दुलालको १८ औं कृति हो । यसअघि उनका नाटक र उपन्यासका १७ वटा कृति प्रकाशित भइसकेका छन् । ‘काले दमाई’ नाटकमा दलित परिवारमा जन्मिएर समाजसेवामा समर्पित काले दमाईको यथार्थ जीवन चित्रण गरिएको छ ।

‘प्रणयपथ’ थपलियाको पहिलो कृति हो । यसमा १ सय ३ वटा कविता छन् । संग्रहमा माया, प्रेम, दविएका पीडा, विभिन्न विकृति र विसंगतिले काव्यात्मक रुप पाएका छन् । वक्ताहरुले ‘प्रणयपथ’ले पाठकको मन जित्ने विश्वास व्यक्त गरे ।

विमोचित दुवै कृतिमाथि समीक्षक रविमान लम्जेलले टिप्पणी गरेका थिए । चेतना नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रम ईश्वरी तामाङले सञ्चालन गरेकी थिइन् ।


Loading...