नेपाल श्रीलंकासँग ५ विकेटले पराजित

एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलंकासँग ५ विकेटले पराजित भएको छ ।  

शुक्रबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग डीएल म्याथडको आधारमा ५ विकेटले पराजित भएको हो । 

वर्षाको कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले दिएको १६० रनको  लक्ष्य श्रीलंकाले ३३ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटाएको थियो । 

श्रीलंकाको जितमा कमिल मिश्राले ५५ रन बटुले । यस्तै अहान विक्रमसिंगेले ३० तथा अभिस्का थारिन्दुले अविजित २५ रन बनाए ।

बलिङतर्फ नेपालका राशिद खानले २ विकेट लिए भने पवन सरार्फ, कमल सिंह ऐरी र सागर ढकालको नाममा एक –एक विकेट हात पारे ।

टस जितेर ब्याटिङ रोजेको  नेपालले पुरै ४२ ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो । ब्याटिङतर्फ नेपालका लागि रित गौतमले सर्वाधिक ५४ रन बनाए भन कप्तान रोहित कुमार पौडेलले ४७, राशिद खानले १५ तथा हरि बहादुर चौहानले १२ रनको जाडे ।

श्रीलंकाका  लागि दिल्सान मधुशनका र नाभोद दिनुसरीले ३–३ विकेट लिए । यो जितसँगै समूह बीको श्रीलंकाले २ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा आइतबार बंगलादेशसँग खेल्नेछ ।