नेपाल हिन्दू राष्ट्र हुनै सक्दैनः निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दू राष्ट्र हुन नसक्ने दोहोर्याएका छन् । दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको घोषणाका लागि बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधिले नेपाल हिन्दू राष्ट्र हुन नसक्ने दोहोर्याएका हुन् । 

“हाम्रो झण्डामा रहेका चार तारा मध्ये एउटा धार्मिक स्वतन्त्रताको प्रतीक हो । धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षता भनेको एउटै हो, प्रजातन्त्र र लोकतन्त्र भने जस्तै,” सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ फर्काउँदै उनले भने, “राज्यलाई हिन्दू बनाउनुपर्छ भन्ने पक्षमा नेपाली कांग्रेस छैन ।”

कांग्रेसको नेतृत्वमा बनेको संविधानले धर्म निरपेक्षता भनेको जिकिर गर्दै उपसभापति निधिले राज्यको कुनै धर्म नहुने र कांग्रेसलाई धर्म निरपेक्षता स्वीकार्य भएको प्रष्ट्याए ।

बेलाबेला हिन्दू राष्ट्रका बारेमा वकालत गर्दै आएका महामन्त्री डा. शशांक कोइरालासँगै बसेका उपसभापति निधिले भने, “जहाँसम्म हिन्दू राज्यको कुरा छ । राज्यलाई हिन्दू राज्य नामाकरण गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छैन, फाइनल कुरा यही हो ।”

असार २२ गतेबाट भदौ १७ गते सम्पन्न भएका कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केही केन्द्रीय सदस्यहरुले हिन्दू राष्ट्रको पक्षमा आआफ्नो धारणा राखेका थिए ।

यस्तै महासमिति बैठकमा पनि सात सय १९ जना महासमिति सदस्यहरुले हस्ताक्षर संकलन गरेर नेपाललाई हिन्दू राष्ट्र बनाइनुपर्ने माग गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए ।