व्यक्तिगत कारण देखाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले ओमानमा हुन लागेको टि–ट्वान्टी सिरिज नखेल्ने बताएका छन् ।
ज्ञानेन्द्र राष्ट्रिय टोलीका ओपनर व्याट्सम्यानसँगै भरपर्दा खेलाडीसमेत हुन । लामो समयदेखि नेपाली टोलीको ओपनिङ गर्दै आएका ज्ञानेन्द्रको अनुपस्थितिमा उनको स्थानमा कसले ओपनिङ गर्ला भन्ने चासो क्रिकेट समर्थकमा छ ।
असोज १८ देखि २३ सम्म हुने टि–ट्वान्टी सिरिजमा ओमानसँगै नेपाल, आयरल्याण्ड, नेदरल्याण्ड र हङकङले सहभागिता जनाउने छन् ।
पाँच टोली सहभागी भएको सिरिज नेपालले पहिलोपटक खेल्न लागेको छ । टि–ट्वान्टी क्रिकेटमा आयरल्याण्ड, नेदरल्याण्ड, हङकङ राम्रा टोली मानिन्छन् । जुन नेपाली क्रिकेटका लागि सकारात्मक संकेत हो । नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ ।
नेपाली टोलीको सबैभन्दा ठूलो समस्या हो ब्याटिङ् । तर पछिल्लो समयमा टि–ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायरको एसिया फाइनलमा नेपाली बलिङ् पनि कमजोर बन्यो । नेपालका विभिन्न समयमा कयौं खेलाडीलाई ओपनिङका लागि मैदानमा उतारेको छ ।
तर कसैले पनि आफूलाई प्रमाणित गर्न सकेका छैनन् ।
त्यसैले पछिल्लो समय कप्तान पारस आफैँले इनिङको सुरुवात गर्छन् भने उनलाई ज्ञानेन्द्र मल्लले साथ दिँदै आएका छन् ।
ज्ञानेन्द्र प्रतियोगितामा सहभागी नहुने भएपछि उनको स्थानमा सम्भावित तीन खेलाडीबीच प्रतिस्पर्धा हुने देखिन्छ । ज्ञानेन्द्रको ठाँउमा ओपनरमा आउने सम्भावित तीन खेलाडी हुन् प्रदीप ऐरी, पवन सर्राफ र विनोद भण्डारी ।




